१०१ वर्षीय श्रीरामुलुले जिते तीन गोल्ड


एजेन्सी ।

भारतका १०१ वर्षीय वल्लभजोस्यूला श्रीरामुलुले एक साताअघि स्वीडेनको गोथेनबर्गमा सम्पन्न विश्व मास्टर्स एथ्लेटिक्स च्याम्पियनशिपमा तीनवटा गोल्ड मेडल जितेका छन्।

भारतीय नौसेनाका अवकाश प्राप्त कमाण्डर श्रीरामुलुले ज्याभ्लिन, डिस्कस र शटपुटमा स्वर्ण पदक जितेका हुन् । भेट्रान खेलाडी श्रीरामुलुले १८ जुलाई २०२४ मा आफ्नो १०१ औं जन्मदिन मनाएका थिए। १३ देखि २५ अगस्टसम्म भएको उक्त च्याम्पियनशिपमा १ सय १० देशका करिब ८ हजार खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।

उनले सन २०१६ मा भएको यही प्रतियोगिताको ९०–९५ वर्षको इभेन्ट्सअन्तर्गत ५, १० र २० किलोमीटर रेस वाकमा गरी तीनवटा गोल मेडल जितेका थिए। उक्त संस्करणमा तीनवटा गोल्ड मेडल जित्ने उनी एकमात्र एसियाली खेलाडी थिए।

जसका कारण उनलाई ‘एथ्लीट्स अफ एसिया’ पनि भनिएको थियो। त्यसअघि उनले सन २०११ मा विश्व मास्टर्स एथ्लेटिक्समा एउटा गोल्ड र दुईवटा सिल्भर मेडल पनि जितेका थिए।