अग्ला भएकाले खेलाडी भुँइमै सुत्नु परेको


एजेन्सी ।

विश्वका सबैभन्दा दोस्रो अग्ला व्यक्ति पेरिस पारालिम्पिक्सको एथ्लेटस् भिलेजको भुँइमा सुत्नु परेको खुलासा भएको छ। ३६ वर्षीय मोर्तेंजा मेहरजाद ८ फिट १ इन्च अग्ला छन् । इरानको प्रतिनिधित्व गरेका उनी भलिबल टिमका खेलाडी हुन्।

फ्रान्सको राजधानीमा गोल्ड जित्दै पारालिम्पिक्समा ह्याट्रिक गर्ने लक्ष्य लिएका मेहरजादको लागि कोठा व्यवस्थित गरिएको छैन। इरानका हेड कोच हादि रेजाईले ओलम्पिक्स डटकममा बताए—टोकियोमा आयोजकहरुले उनका लागि विशेष बेड बनाएका थिए । तर, दुर्भाग्य यहाँ (पेरिस) भने छैन । उनी भुँइमै सुत्न बाध्य छन्।

विश्वका सबैभन्दा अग्ला व्यक्ति टर्कीका सुल्तान कोसेन हुन् । कोसेनको उँचाई ८ फिट ३ इन्च रहेको छ । मेहरजादको उँचाई कोसेनको भन्दा २ इन्चले कम रहेको छ । तर, मेहरजाद भने उँचाइसँगैं सिटिङ भलिबल (बसेर खेल्ने भलिबल) मा दुई पटकका पारालिम्पिक्स च्याम्पियन हुन् ।

सिटिङ भलिबल के हो ?
सिटिङ भलिबल नाम अनुसार नै बसेर खेल्ने भलिबल भनेर प्रष्ट बुझिन्छ। यो खेल नेदरल्यान्ड्समा १९५६ मा घाइते सैनिकहरुका लागि बनेको थियो । यसको दुई वर्षपछि नेदरल्यान्ड्स र जर्मनीबिच सिटिङ भलिबल म्याच आयोजना गरिएको थियो।

पारालिम्पिक्समा यो खेल पहिलो पटक १९७६ को मोन्ट्रियल पारालिम्पिक्समा प्रदर्शनीको रुपमा राखिएको थियो। २००४ को एथेन्स पारालिम्पिक्स गेम्समा वुमेन सिटिङ भलिबल समावेश गरियो। यसपछि टोकियो पारालिम्पिक्स २०२१ मा मेन्स र वुमेन्सतर्फ ८/८ टिमले सहभागिता जनाएका थिए।