बाबु छोरा दुवै फुटबलर

3.29k
Shares

काठमाडौं ।

उत्कृष्ट बन्न सजिलो हुँदैन । तर, जब आफ्नै परिवारको सदस्य कुनै खेलमा उत्कृष्ट छन भने उसका सन्ततिले पनि त्यही पथलाई अंगालेर उत्कृष्ट बन्ने प्रयास गरेको धेरै उदाहरणहरु छन् । युरोपका विभिन्न क्लबहरूमा पनि फुटबल जगतका केही ठूला नाम भएकाहरुको छोरा आफ्नो पिता हिंडेको पथमा उत्कृष्ट हुन प्रयासरत छन् । तीमध्ये कोहीले पितालाई पनि उछिनेका छन् भने कोही पिताको उंचाइलाई छुने प्रयासमा असफल भएका छन् । यहाँ त्यस्ता केही फुटबलरहरुको सूची छ, जसको दुई पुस्ताले फुटबललाई रोजेर युरोपमा खेलिरहेका छन् ।

म्याराडोना र म्याराडोना जुनियर

३७ वर्षीय डिएगो जुनियर एक अर्जेन्टिनी–इटालियन फुटबल प्रशिक्षक, पूर्व खेलाडी र पेशेवर बिच फुटबल खेलाडी हुन् । जसले हाल एक्केलेन्जिया क्याम्पानियाको क्लब मोंटेकल्चियोमा व्यवस्थापन गर्दैछन् । उनी इटालियन महिला क्रिस्टियाना सिनाग्रा र अर्जेन्टिनी लेजेन्डरी फुटबल खेलाडी डिएगो म्याराडोनाका छोरा हुन् ।

म्याराडोना र सिनाग्राबीचको अफेयरका क्रममा जन्मेका उनलाई डिएगो म्याराडोनाले सन २०१६ अघिसम्म आफ्नो छोरा मानेका थिएनन । तर, त्यसअघि नै सन १९९३ मा नापोलीको अदालतले भने उनलाई कानूनी रूपमा म्याराडोनाको छोरा मान्यता दिएको थियो । डिएगो जुनियरले नापोलीमा युवा खेलाडीको रूपमा करियर सुरु गरेका थिए । उनले अन्डर–१७ स्तरमा इटालीको प्रतिनिधित्व समेत गरेका थिए । तर, उनले सिरी डी भन्दा माथि कहिल्यै खेलेनन् र बिच फुटबलतर्फ करियर बनाए ।

जिनेदिन र एन्जो, लुका, ठियो र एल्याज जिदान
फ्रेन्च फुटबलका आइकन जिनेदिन जिदानका चारजना छोराले फुटबललाई रोजेका छन् । २९ वर्षीय जेठो छोरो एन्जो जिदान अहिले फुएनलाब्राडा क्लबबाट खेल्ने गर्छन । जसले रियल मेड्रिडबाट आफ्नो करियर सुरु गरेका थिए । अहिले उनी स्पेनको तेस्रो श्रेणीको क्लब फुएनलाब्राडामा खेलिरहेका छन् । २०१६–१७ मा उनी रियल मेड्रिड क्लबको सिनियर टिममा रहेका थिए । उनले २०१४ बाट रियल मेड्रिडको सी टिमबाट प्रोफेसनल करियरको सुरुवात गरेका थिए।

उनले २०१४ मा फ्रेन्च अन्डर १९ टोलीबाट पनि खेलेका थिए । उनका अन्य छोराहरु लुका, ठियो र एल्याज पनि फुटबलमा संलग्न छन् । लुका जिदान गोलकीपर हुन ररियल मेड्रिडको युवा सेटअपमा सामेल छन । उनले सिनियर टोलीबाट पनि खेलेका छन । त्यस्तै, अर्का छोरा ठियो जिदानले पनि युवा लिगमा खेलेका छन र जो रियल मेड्रिड एकेडेमीका खेलाडी पनि हुन । एल्याज जिदान पनि एक फ्रेन्च पेशेवर फुटबल खेलाडी हुन् जो स्पेनिस प्रिमेरा फेडेरेसियन क्लब बेटिस डेपोर्टिभोको लागि सेन्टर ब्याकमा खेल्छन् । उनीहरु सबै आफ्ना बुबाको सफलता हासिल गर्न प्रयासरत छन ।

लिलियन, मार्कस र खेफरेन थुराम
२७ वर्षीय मार्कस थुराम इटालियन सिरी ए क्लब इन्टर मिलानबाट खेल्छन । उनी फ्रान्सका चर्चित खेलाडी लिलियन थुरामका छोरा हुन् । उनी जर्मन क्लब ग्लाडबाखबाट इन्टर मिलान आएका हुन ।

आफ्नो पिताको विरासतलाई थामेका उनले सन २०२२ को फीफा विश्वकप बनेका उपविजेता फ्रेन्च टोलीका उनी एक महत्वपूर्ण सदस्य हुन् । मार्कस सन २०२० देखि फ्रेन्च राष्ट्रिय टोलीमा सामेल छन । उनका २३ वर्षीय भाई खेफरेन थुराम पनि अहिले इटालियन फुटबल क्लबमा युभेन्ट्सका मुख्य खेलाडीका रूपमा खेलिरहेका छन् । उनी फ्रान्सको राष्ट्रिय टोलीका एक महत्वपूर्ण सदस्य हुन । सन २०१८–१९ को सिजनमा मोनाको बी बाट प्रोफेसनल फुटबल करियरको सुरुवात गरेका उनले निस बी, निस ए हुँदै युभेन्ट्समा आबद्ध भएका हुन ।

पिटर र कास्पर स्माइकल

पिटर स्माइकललाई १९९२ र १९९३ दुवै वर्षमा आइएफएफएचएस विश्वको सर्वश्रेष्ठ गोलकीपरको रूपमा चयन गरिएको थियो । उनले इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडमा आठ सिजन खेल्दा पाँच प्रिमियर लिग, तीन एफए कप र १९९९ को यूईएफए च्याम्पियन्स लिग जितेर ट्रेबल उपाधि पूरा गरेका थिए।

स्माइकलले डेनिश राष्ट्रिय टोलीबाट सन् १९९२ मा यूईएफए युरोपियन च्याम्पियनसिप पनि जितेका थिए । म्यानचेस्टर सिटीबाट करियर सुरु गरेका उनकै ३७ वर्षीय छोरा कास्पर स्माईकलले पनि लेस्टर सिटीमा रहँदा सबैभन्दा सफल भएका थिए।

जहाँ उनले ११ वर्षमा ४ सय ७९ म्याच खेल्ने क्रममा २०१६ मा प्रिमियर लिग, २०२१ मा एफए कप र एफए कम्युनिटी शील्डको उपाधि जितेका थिए। डेनमार्क राष्ट्रिय टोलीबाट १ सय भन्दा बढी अन्तर्राष्ट्रिय म्याच खेलेका उनले २०१८ र २०२२ को फिफा विश्वकप र यूरो २०२० र २०२४ मा आफ्नो देशको प्रतिनिधित्व गरेका छन् । स्माइकल अहिले स्कटिश क्लब सेल्टिकमा आबद्ध छन ।

अल्फ–इन्जे र अर्लिङ हालाण्ड
२४ वर्षीय अर्लिङ हालाण्डले इंग्लिश प्रिमियर लिग म्यानचेस्टर सिटीबाट खेलिरहेका छन । उनी सन १९९४ को फिफा विश्वकपमा नर्वेको राष्ट्रीय टिमका सदस्य अल्फ–इन्जे हालाण्डका छोरा हुन । अर्लिङ हालाण्डले आफ्नो क्लब करियर सन २०१६–१७ मा ब्रिने क्लबबाट सुरु गरेका थिए । हाल म्यानचेस्टर सिटीमा खेलिरहेका उनले नर्वेको राष्ट्रिय टोलीबाट ३३ खेलमा ३१ गोल गरिसकेका छन ।

प्याट्रिक र जस्टिन क्लूईभर्ट
२४ वर्षीय जस्टिन क्लूइभर्ट इंग्लिश क्लब बर्नमाउथबाट खेल्छन । उनी कुनै समयका चर्चित डच खेलाडी प्याट्रिक क्लूइभर्टका छोरा हुन । जस्टिनले आफ्नो पिताको पथलाई रोज्दै आयाक्स फुटबल क्लबको एकेडेमीबाट फुटबल करियर सुरु गरेका हुन । नेदरल्यान्ड्स राष्ट्रिय टोलीका समेत सदस्य उनले सन् २०१७ मा आयाक्सबाट क्लब फुटबलमा डेब्यु गरेका थिए । उनले रोमा, आरबी लेइपजिग, नाइस, भ्यालेनसिया हुँदै अहिले बर्नमाउथमा खेलिरहेका छन् ।

जर्ज र टिमोथी वेह
२३ वर्षीय टिमोथी वेह युभेन्ट्स क्लबबाट खेल्छन । जसले फ्रान्सको पेरिस सेन्ट–जर्मेन (पीएसजी) बाट आफ्नो क्लब करियर सुरु गरेका थिए । सन २०१८ देखि अमेरिकाको राष्ट्रीय टोलीमा सामेल उनले ४१ खेलमा ६ गोल गरिसकेका छन । उनी फुटबलर तथा लाईबेरियाका राष्ट्रपति जर्ज वेहका सुपुत्र हुन । जर्ज वेह उनै फुटबलर हुन जसले सन १९९५ मा बालोन डी’ ओर अवार्ड जित्न सफल भएका थिए ।

घेओर्गे र आयानिस हाजी
२५ वर्षीय आयानिस हाजी स्पेनिस क्लब अलाभेसबाट खेलिरहेका छन । उनी स्कटल्याण्डको रेन्जरहरूबाट लोनमा अलाभेस पुगेका हुन । रोमानियाको राष्ट्रिय टोलीबाट ३९ म्याच खेलेर पाँच गोल गरिसकेका मिडफील्डर आयानिस सन १९९४ को फिफा विश्वकपमा चर्चा बटुलेका रोमानियाली फुटबलर घेओर्गे हाजीका छोरा हुन । आयानिस हाजीले रुमानियन क्लब फरुल कोन्स्टान्टा र जेन्कमा आफ्नो करियरको सुरुवात गरेका थिए ।

हेनरिक र जर्डन लार्सन
२७ वर्षीय जर्डन लार्सन डेनमार्कको एफसी कोपेनहेगनबाट खेलिरहेका छन । जर्डन लार्सनले आफ्नो पिता हेनरिक लार्सनको मार्गदर्शनमा हेन्सलिङ्बर्गमा फुटबल करियरको सुरुवात गरेका हुन् । जर्डनले स्वीडिश राष्ट्रिय टोलीबाट ७ खेलमा एक गोल गरेका छन । अहिले उनी एफसी कोपेनहेगनमा लोनमा खेलिरेहका छन् । उनका पिता हेनरिक लार्सन स्वीडिश फुटबल आइकोनिक खेलाडी थिए।

सेसारे, पाओला र डेनियल माल्डिनी

पाओलो माल्डिनी फुटबल इतिहासका सबैभन्दा महान डिफेन्डरहरू मध्ये एक हुन् र उनका बुबा सेसारे पनि सन् १९५० र १९६० को दशकमा एसी मिलानका उत्कृष्ट खेलाडी थिए । १४ पटक इटालीबाट खेलेका डिफेन्डर सेसारे पछि अज्जुरीको प्रशिक्षक समेत बनेका थिए । उनका नाती छोरा पाओलो र नाती डेनियल पनि फुटबलर हुन् जसले एसी मिलान र अन्डर–२१ स्तरमा इटालीको पनि प्रतिनिधित्व गरेका छन् ।

इटालियन डिफेन्सका खम्बा मानिने पाओलो माल्डिनीका २२ वर्षीय छोरा डेनियल माल्डिनीले मोन्जा क्लबबाट खेलिरहेका छन । उनी एसी मिलानबाट लोनमा मोन्जा पुगेका हुन । उनले इटालीको अन्डर १८, १९ र २० बाट खेलिसकेका छन । डेनियल माल्डिनीले आफ्नो हजुर बुवा र पिताको पथ अंगाल्दै एसी मिलानबाट खेल करियर डेब्यु गरेका थिए ।