टेबल टेनिससँग थ्री सिक्स्टी वानको सम्झौता


काठमाडौं ।

नेपाली राष्ट्रिय टेबल टेनिसका सिनियर र जुनियर खेलाडीलाई अन्तर्राष्ट्रिय खेल पोशाक निर्माण कम्पनी थ्री सिक्स्टी वानले प्रायोजन गरेको छ।

अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष विजेन्द्र हमाल र थ्री सिक्स्टी वान (३६१) को नेपालका लागि आधिकारिक विक्रेता सर्व सिद्धी एपेक्स प्रालिका निर्देशक सरोज कार्कीले सोमवार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सम्झौता ४ वर्षको रहने बताइएको छ।

नेपालबाट जुनियर र सिनियरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने सबै खेलाडीलाई थ्री सिक्स्टी वानको खेल पोशाक उपलब्ध गराइने सर्व सिद्धी एपेक्सका धिरज कार्कीले जानकारी दिए ।

सर्व सिद्धी एपेक्स प्रालिका निर्देशक सरोज कार्कीले आफू जुनियर स्तरको टेबल टेनिस खेलाडी रहिसकेको जनाउँदै विगतमा पनि खेलाडीहरुलाई सहयोग गर्दै आएको र भविष्यमा पनि निरन्तरता दिने बताए ।