नेपाली क्रिकेट टोलीले आज श्रीलङ्कामा पहिलो अभ्यास खेल खेल्दै


काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेटले श्रीलङ्कामा आज पहिलो अभ्यास खेल खेल्दै छ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपाली टिमले श्रीलङ्कामा श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेल अन्तर्गत पहिलो खेल आज हुन लागेको हो।

यो खेल आज बिहान १०: १५ बजेदेखि सुरु हुँदै छ। नेपालले आईसीसी क्रिकेट विश्वकपको लिग-२ को तयारीका लागि श्रीलङ्कामा अभ्यास खेल्ने भएको हो। नेपालले पहिलो खेल आज सेप्टेम्बर ३ मा,  दोस्रो खेल सेप्टेम्बर ४ मा र तेस्रो खेल सेप्टेम्बर ६ मा खेल्ने भएको छ।

श्रीलङ्कामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ। जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन्।

अभ्यास खेलपछि नेपाली टोली क्यानडामा हुने आईसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ जाने छ।