च्याम्पियन्स लिगमा नयाँ ढाँचा, एक क्लबले ८ क्लबसँग खेल्नुपर्ने


एजेन्सी ।

सार्वजनिक भएको युईएफए च्याम्पियन्स लिग फुटबलमा समूह चरणको नयाँ ड्र अनुसार अब एउटा क्लबले आठवटा क्लबसँग खेल्नुपर्ने भएको छ।

युरोपेली फुटबल महासंघले नयाँ सिजन २०२४–२५ का लागि सार्वजनिक गरेको समूह चरणको ड्र अनुसार नयाँ सिजनदेखि यस प्रतियोगिता नयाँ ढाँचामा खेलाउन लागिएको हो। यसअघि ३२ टिमले खेल्दै आएको प्रतियोगितामा अब कूल ३६ टिम सामेल हुनेछन्।

यसअघि अंकका आधारमा समूह चरण खेलाइन्थ्यो भने अब नयाँ ढाँचा अनुसार लिग अवधारणामा खेलाइनेछ। नयाँ नियमअनुसार हरेक टिमले समूह चरणमा ८ क्लबसँग खेल्नुपर्ने छ। यसअघि एक समूहमा ४ क्लब हुन्थे र ‘होम एन्ड अवे’ गरी जम्मा ६ खेलपछि समूह चरण पूरा हुन्थ्यो।

अब हरेक टिमले ८ क्लबसँग खेल्नुपर्नेछ। यी ८ क्लबसँग एक–एक खेल मात्रै हुनेछन्, जसमा ४ घरेलु मैदानमा र ४ खेल अवे मैदानमा हुनेछन्।

समूह चरण
अगस्ट १७ देखि शुरु हुने च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले समूह चरणका खेलमा इन्टर मिलान, युभेन्टस, स्पोर्टिङ प्रतिस्पर्धी पाएको छ। लिभरपुलले आफ्नो समूहमा रियल मेड्रिड, आरबी लेइपजिग, बायर लेभरकुसेन, एसी मिलान प्रतिस्पर्धी पाएको छ।

बार्यन म्युनिखले बार्सिलोना, पिएसजी प्रतिस्पर्धी पाउँदा बार्सिलोनाले बार्यन म्युनिख, बोरुसिया डर्टमन्ड, एटलान्टा, बेनफिकालाई पाएको छ। पिएसजीको समूहमा म्यानचेस्टर सिटी, बार्यन म्युनिख, एट्लेटिको मेड्रिड, आर्सेनलसहितका बलिया टिमहरू छन् । सबैभन्दा रोमाञ्चक खेलहरू यही समूहमा हुने अनुमान गरिएको छ ।

लिगको नयाँ प्रारूप
नयाँ सिजनबाट ३२ को ठाउँमा समूह चरणमा ३६ टिमले प्रतिस्पर्धा गर्नेछन् । समूह चरण अब ‘लिग फम्र्याट’ मा खेलाइनेछ ।
चार पटबाट गरिने ड्र अनुसार हरेक टिमले ८ प्रतिस्पर्धी टिम पाउनेछन् । जसमा एक टिमले ४ होम र ४ अवे गरी कूल ८ खेल खेल्नुपर्ने छ ।

समूह चरणका खेल सकिँदा १ देखि ८ स्थानसम्म रहेका क्लबले सोझै अन्तिम १६ मा प्रवेश पाउनेछन् । त्यसपछि ९ देखि २४ स्थानसम्मका टिमले भने एकअर्काविरुद्ध प्लेअफ राउन्डमा खेल्नेछन् । प्लेअफ राउन्ड नकआउटको हुनेछ ।

समूह चरणका खेल सकिँदा अंक तालिकाको आधारमा २५ देखि ३६ स्थानसम्मका ११ टिम रेलिगेसनमा जानेछन् । रेलिगेसनमा गएका यी ११ टिमले अर्को सिजन खेल्न पाउने छैनन् । अर्को सिजन वरीयताका आधारमा नयाँ टिमले प्रतियोगितामा प्रवेश पाउने नियम रहेको छ ।