जोकोभिचको असफलतापछि बिग थ्रीको युग अन्त्य हुँदै

3.01k
Shares

काठमाडौं ।

सर्बियाली टेनिसस्टार नोभाक जोकोभिच यस वर्ष ग्रान्डस्लाम उपाधिविहीन भएपछि उनको युग सकिएको अनुमान लगाइरहेको छ। विश्व खेलकुदमा जोकोभिचको युग लगभग अन्त्यतिर रहेको विश्वका अखबारका हरेक खेल पेजमा विश्लेषण भइरहेको हो।

यदि उनको युग समाप्त भएमा बिग थ्रीको युग पनि सकिनेछ। यसअघि नै बिग थ्रीका अर्का दुई खेलाडी राफायल नाडाल (स्पेन) र रोजर फेडेरर (स्विट्जरल्यान्ड) को युग समाप्त भइसकेको छ।

३७ वर्षीय जोकोभिचले २४ ग्रान्डस्लाम उपाधि जितेर मेन्स सिंगल्सतर्फ सर्वाधिक ग्रान्डस्लाम उपाधि जितेको रेकर्ड राखेका छन्। तर, उनी वुमेन खेलाडी मार्गारेट कोर्ट स्मिथको २४ ग्रान्डस्लाम उपाधिसंख्यासँग बराबरीमा छन्। यदि, एक उपाधि जितेमा उनी एकलरुपमा सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने खेलाडी हुनेछन्।

जोकोभिचले यस वर्ष कुनै पनि ग्रान्डस्लाम जित्न सकेनन् । हरेक वर्ष चार ग्रान्डस्लाम प्रतियोगिता हुनेमा उनले कुनैमा पनि उपाधि हासिल गर्न सकेनन् । उनी २०१७ पछि पहिलो पटक ग्रान्डस्लाम उपाधिविहीन भएका हुन् । त्यसो त जोकोभिचले २५ दिन अघि मात्रै पेरिस ओलम्पिक्समा मेन्स सिंगल्सतर्फ गोल्ड मेदल जितेर करिअरमा गोल्डेनस्लाम पुरा गरेका थिए । उनले त्यतिबेला टेनिस इतिहासमा सबैभन्दा पाको खेलाडीले स्वर्ण जितेको रेकर्ड बनाएका थिए।

जोकोभिचको २०२४ मा रहेको तथ्य यस्तो छ । ४२८ साता वल्र्ड नम्बर एक भएको, ३७७ ग्रान्डस्लाम म्याच जितेको। यो पनि रेकर्ड नै हुन् । तर, यो शानदार तथ्यले पनि उनलाई यस वर्ष निकै निरासा नै हात लाग्यो । किनभने उनले यसवर्ष करिअरको २५ औं ग्रान्डस्लाम जित्न सकेनन् ।

जोकोभिचको यस वर्षका ग्रान्डस्लाम यात्रा

अस्ट्रेलियन ओपनः सेमिफाइनल
जोकोभिच आफ्नो ११ औं अस्ट्रेलियन ओपन र २५ औं वल्र्ड रेकर्ड उपाधि जित्न मेलबर्न पुगेका थिए। उनले दिनो प्रिजमिच, एलेक्जेइ पोपीरिन र टोमास मार्टिनलाई हराएर चौथो चरणमा स्थान सुरक्षित गरे।

चौथो चरण एड्रियान मानारिनोविरुद्ध केवल तीन गेम ड्रप गरेर शानदार जित हासिल गरे । तर, क्वार्टरफाइनलमा टेलर फ्रिजलाई हराउन चार सेट खेलेका उनी सेमिफाइनलमा यानिक सिनरसँग चार सेटमा पराजित भए । योसँगै मेलबर्नमा लगातार ३३ जितको यात्रा पनि समाप्त भयो ।

फ्रेन्च ओपनः क्वार्टरफाइनल
रोलान्ड ग्यारोसमा जोकोभिच पिइरे हुजेस हर्बट र रोबेर्टो कारबालेस बाइनाविरुद्ध सहज जित हात पार्दै अगाडि बढे । तर, इटालीका युवा खेलाडी लोरेन्जो मुसेटीसँग भने उनले पाँच सेट संघर्ष गर्नुपरेको थियो । त्यसपछि चौथो चरणमा फ्रान्सिक्सको सेरुन्डोलसँग अर्को पाँच सेटको जित निकाले । तर, घुँडाको समस्याले गर्दा क्यास्पर रूउडविरुद्ध उनले नाम फिर्ता लिनुपरेको थियो ।

विम्बल्डनः फाइनल

विम्बल्डन घाँसे कोर्टमा हुने ग्रान्डस्लाम प्रतियोगिता हो । यसमा जोकोभिच फाइनल पुगेका थिए । उनले यसपटक २५ औं ग्रान्डस्लाम उपाधि जितेर इतिहास रच्ने सबैको अनुमान थियो । तर, फाइनलमा युवा खेलाडी तथा हाल टेनिस जगतमा जमिरहेका कार्लोस अल्काराजसँग भएको थियो । यो फाइनल खेल एकतर्फी नै भयो र उनी सीधा सेटमा पराजित भए । जबकी गत वर्ष पाँच सेटको फाइनल खेल भएको थियो ।

यूएस ओपनः तेस्रो चरण

जोकोभिच उपाधि रक्षा गर्ने अभियानका साथ न्युयोर्कमा पुगेका थिए। उनले पहिलो दुई चरण जितेपनि दुबै खेलमा उनको सर्भिस त्यति उत्कृष्ट देखिएको थिएन। यो समस्या तेस्रो चरणमा झनै बढेपछि उनले अप्रत्यासित नतिजाको सामना गर्नुपर्‍यो । अस्ट्रेलियन युवा खेलाडी पोपिरिनले उनलाई चार सेटमा हराइदिएका थिए।

जोकोभिचले यो खेलमा १४ डबल फल्ट गरेका थिए । टेनिसमा डबल फल्ट भनेको सर्भिस गर्दा लगातार दुई पटक गल्ती हुने नियम हो । साथै उनले तीन चरणको खेलमा ३२ अनफोर्स इरर (अनावश्यक गल्ती) समेत गरेका थिए ।