मोटरसाइकल चोरीमा संलग्न तीनजना ट्राफिक प्रहरीको नियन्त्रणमा


काठमाडौँ । 

काठमाडौँको चाबहिल  र स्वयम्भूबाटबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नुवाकोट घर भई हाल काठमाडौंको  चाबहिल  बस्ने २८  वर्षीय सन्तोष फुयाल,  मकवानपुर घर भई हाल स्वयम्भू बस्ने  ३० वर्षीय सूर्य बहादुर स्याङ्तानलाई चावहिलबाट र पर्सा घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय अजय शर्मालाई स्वयम्भूबाट हिजो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

वास्तविक नम्बर बागमती प्रदेश ०२-०४९ प ०१९०  नम्बरको मोटरसाइकको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४६ प ९० १९ राखी चलाइ रहेको अवस्थामा फुयाँललाई ट्राफिक प्रहरीले फेला पारेको थियो । उक्त मोटरसाइकलमा पछाडि सवार स्याङ्तान समेतलाई अनुसन्धानका लागि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यसै गरी वास्तविक नम्बर सुदुरपश्‍चिम प्रदेश ०१-००९ प ७८ १५ नम्बरको मोटरसाइकललाई नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०३७ प ७७ १५ नम्बर राखी चलाइ रहेको अवस्थामा फेला पारी शर्मालाई पनि हिजै ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । बागमती प्रदेश ०२-०४९ प ०१९० नम्बरको मोटरसाइक झापाको बिर्तामोड नगरपालिका ८ घर भई हाल अनामनगर बस्ने प्रदिप अधिकारीले गत साउन २० गते हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।

त्यस्तै सुदुर पश्‍चिम प्रदेश ०१-००९ प ७८ १५ नम्बरको मोटरसाइकल हराएको भनी डढेल्धुराको पर्शुराम नगरपालिका ४ घर भई कीर्तिपुर बस्ने डम्बर सिंह मालले पनि खोजतलासको निवेदन दिएका थिए । नियन्त्रणमा आएका फुयाल र स्याङ्तानलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबार र शर्मालाई प्रहरी वृत्त कीर्तिपुर पठाइएको  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।