आइजीपी रुपन्देही हुँदा बरामद भयो ट्रकसहित २४० बोरा चिनी


भैरहवा ।

भन्सारको नेतृत्व र सुरक्षा निकायको सहकार्यमा निरन्तर अवैध सामान नियन्त्रणमा आएपनि तस्करहरुको काममा भने गिरावट भएको छैन । भारतसंग ५९ दशमलव ७ किमी जोडिएको रुपन्देही जिल्ला खुला सिमा चुनौतीको विषय भएपनि सामना गर्न सुरक्षा निकायका युनिट परिचालन छन, स्रोत साधन र जनशक्ति अनुसार नियामक निकाय लागेपनि तस्करहरुले काममा भने ब्रेक लगाएका छैनन ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालसहितको टोली रुपन्देही भएकै बेला तस्करहरुले सामान ओसार गर्नु ठूलो आट हो । दर्जनौँ प्रहरी अहिले सडकमा परिचालन भएपनि तस्करहरुका अवैध सामानको ट्रक गुडिरहेको पाइएको छ ।

शनिबार विहान २ बजे भन्सारको टोलीले चिनी सहितको ट्रक र कपडा बरामद गरेको छ । विशेष सूचनालाई आधार बनाई भन्सार कार्यालय प्रमुख नारद गौतम सहितको टोली सक्रिय रुपमा निगरानी बढाउदै अवैध बस्तु धमाधम नियन्त्रणमा लिइरहेका छन ।

भन्सारकै नेतृत्वमा गएको टोलीले सशस्त्र प्रहरी डण्डाको सहकार्यमा लुम्बिनी रोड प्रकटेश्वर मन्दिर जाने बाटोबाट ट्रक सहित करिब २०० बोरा अवैध चिनी बरामद गरेको छ । ग २ ख १२९० नम्बरको ट्रकमा लोड भएको अवस्थामा उक्त चिनी बरामद गरिएको हो । अवैध चिनी सहितको ट्रक भने रमवापुर प्रहरी चौकी नजिकै रहेको थियो । यस्तै सोही स्थानबाट थप संचित गरेको अवस्थामा ४० बोरा चिनी सशस्त्र प्रहरीले बरामद गरेको छ ।

राती नै गएको सोही भन्सार टोलीले लुम्बिनी रोड मोतिपुर क्षेत्रबाटै २ वण्डल कपडा समेत बरामद गरेको छ । ठूलो बण्डलमा कपडा लोड गरि मोटरसाइकल कुदाइरहेको अवस्थामा भन्सार टोली पछाएपछि २ वटै मोटरसाइकलले कपडा छाडी भागेका थिए ।
भैरहवा भन्सार कार्यालयले राजश्य लक्ष्य प्राप्त गर्न नसकेपनि पछिल्लो समय भारतबाट अवैध रुपमा भित्रिएको मालवस्तु बरामद गर्दै आएको छ ।

यस सातामा मात्रै भन्सारले भैरहवा गल्लामण्डीको २ वटा गोदाममा छापा हानेको छ । भैरहवा भन्सार कार्यालयको नेतृत्व नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वयमा अवैध रुपमा ल्याई भण्डारण गरेको अवस्थामा गल्लामण्डीबाट ७५ बोरा चिनी र ९२ बोरा मटर बरामद गरेको थियो ।

यस्तै सोमबार गल्लामण्डी क्षेत्रकै विभिन्न २ वटा घरमा संचित गरेर राखेको अवस्थामा वडा नम्बर ६ क्षेत्रबाट १२२ बोरा र वडा नम्बर ४ क्षेत्रबाट ५७ बोरा चिनी बरामद गरेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा ती अवैध सामान नियन्त्रणमा लिएको हो ।

भैरहवा भन्सार कार्यालयले पछिल्लो एक वर्षमा नेपाल भित्रिएको करोडौ मुल्य बराबरको अवैध सामान बरामद गरेको छ । पछिल्लो समय सेवाप्रबाहसँगै भन्सारको टिम तस्करी निणन्त्रणमा सक्रिए देखिएको छ । रातदिनको गस्ती र सूचनाको सुक्ष्म निगरानीले अवैध पैठारीकर्ता धमाधम नियन्त्रणमा आइरहेको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए । भन्सारले सीमा क्षेत्रमा निगरानी बढाउँदा यो सफलता हात लागेको हो ।

सूचना र नियमित निगरानीले दर्जन गोदाममा छापा मारेर सामान, ढुवानीको साधन र मानिस नियन्त्रणमा लिइएको छ । भन्सारसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सीमा क्षेत्रबाट करोडौंका सामान बरामद गरेका छन् ।

सिमा सुरक्षा र अवैध गतिविधी नियन्त्रण गर्न सशस्त्र प्रहरीको जिम्मेवारी छ भने नेपाल प्रहरीको पनि ठूलो टिम पनि अवैध बस्तुको ओसारपसर नियन्त्रणमा लाग्ने गरेको छ । सुरक्षा घेरा हुदा हुदै पनि तस्करका सामान निर्वाध रुपमा भित्र्याईरहेका छन । सिमति स्रोत साधन र जनशक्ति भएको भन्सारले निरन्तर यस्ता अवैध बस्तु नियन्त्रण गरिरहेकै छ ।

पछिल्लो चामल, चिनी, मटर, कपडा र प्याजको तस्करी बढेको छ । यसका अलावा दैनिक उपभोग्य सामान, हार्डवेयर, मेसिनरी तथा इलेक्ट्रीक सामानहरु विभिन्न नाकाबाट भित्रिरहेको सुरक्षा निकायले बरामद गरेको तथ्याङकले देखाउछ । सिमा क्षेत्र नजिक रहेका गल्लाभण्डारहरुले पनि धान, गहु र चामल अवैध रुपमा भित्र्याई बैध बनाउने गरेका छन ।