टेस्ट ड्राइभ गर्ने बहाना बनाई मोटरसाइकल चोरी गर्ने तीनजना पक्राउ


काठमाडौँ।

टेस्ट ड्राइभ गर्ने बहानामा मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमा घर भई हाल काठमाडौँको नागार्जुनस्थित ग्रिनभिलेज बस्ने वर्ष १८ का निश्चल आले मगरको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले राकेश थापासहित तीन जनालाई पक्राउ गरेको हो।

यस्तै प्रहरीले सो मोटरसाइकल प्रयोग गर्ने सुरोजन शाही विकाश थामीलाई पनि पक्राउ गरेको छ । केही अघि निश्चलको केटीएम डुक २५० मोटरसाइकल बिक्रीका लागि फेसबुकमा विज्ञापन पोष्ट भएको थियो । सोही मोटरसाइकल खरिद गर्नका लागि टेस्ट ड्राइभको नाममा राकेशले चोरेर भागेका थिए ।

साथै अनुसन्धानको क्रममा राकेश थापा समेतको संलग्नतामा केही अघि धनुषाका लक्ष्मण राज शाको मोटरसाइकल समेत चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।