राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिम सुरु


काठमाडौँ।

राष्ट्रिय सेवा दलले आजदेखि देशभरका २१ वटा जिल्लामा रहेका ४५ वटा बिद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरु (१६२०) जनालाई सिनियर डिभिजन राष्ट्रिय सेवा दल (NCC) तालिम सुरु गरेको छ । दुई चरणमा सञ्चालन हुने उक्त तालिम अन्तरगत पहिलो चरणमा संस्थागत तालिम र दोस्रो चरणमा वार्षिक सामूहिक क्याम्प संचालन हुनेछ ।

आर्थिक वर्ष ०८१/८२ मा देश भरका ७७ जिल्लाहरु मध्ये ७५ वटा जिल्लामा रहेका २१४ वटा बिद्यालयहरुमा अध्ययनरत ७७०४ जना छात्र छात्राहरुलाई NCC तालिम (जुनियर तथा सिनियर डिभिजन) गराउने योजना अनुरुप गत आषाढ १४ गतेबाट १६९ वटा बिद्यालयमा अध्ययनरत ६०८४ जना छात्र छात्राहरु समावेश गरी NCC जुनियर डिभिजन तालिम सञ्चालन भई रहेको छ ।

उक्त तालिमहरुमा सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, अनुशासन लगायत विविध विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिने बताइएको छ।

वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलले आफ्नो स्थापनाकालदेखि हालसम्म ७४,४८० (चौहत्तर हजार चार सय असी) जनालाई सिनियर तथा जुनियर डिभिजन राष्ट्रिय सेवा दल तालिम प्रदान गरी सकेको छ ।