नेप्सेमा अहिलेसम्मकै उच्च कारोबार, शेयर बजार ३ वर्ष अगाडिकै स्थितिमा

8.37k
Shares

काठमाडौं ।

पछिल्लो एक महिनामा शेयर बजारमा आधा दर्जन रेकर्ड कायम भएका छन् । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा झण्डै ३० अर्ब रुपियाँको कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार २९ अर्ब ९५ करोड ८५ लाख रुपियाँको शेयर कारोबार भएको छ । यसअघि गत सोमबार २७ अर्ब २४ करोडको कारोबार हुँदै रेकर्ड कायम भएको थियो ।

नेप्सेमा २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोडको उच्च कारोबारको रेकर्डलाई यस वर्ष साउन १६ गते २१ अर्ब ९१ करोड रुपियाँको कारोबार हुँदै तोडिएको थियो । तत्पश्चात् साउन २२ गते २३ अर्ब ७२ करोड र साउन २७ गते २५ अर्ब ७७ करोडको कारोबार हुँदै नयाँ रेकर्ड बनाएको थियो ।

बिहीबार नेप्से ४३ दशमलव शून्य ५ अंकले वृद्धि हुँदै ३ हजारको बिन्दुलाई पार गरेको छ । यो करिब ३ वर्ष अगाडिकै स्थिति हो । यसअघि २०७८ भदौ १३ गते नेप्से परिसूचक ३०४५ बिन्दुमा रहेको थियो । बिहीबार भएको शेयर कारोबार संख्या पनि उच्च हो । यस दिन ६ करोड ८९ लाख ८० हजार कित्ता शेयर किनबेच भएको छ । बैंकिङ समूहमा भएको उच्च वृद्धिसँगै समग्र नेप्से परिसूचक पनि वृद्धि भएको भएको छ । यस दिन बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, मोदी इनर्जी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सर्किट लेवलमा कारोबार भएको छ ।

भने एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, लिवर्टी इनर्जीको पनि शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । बिहीबार कारोबार भएका ३३४ वटा कम्पनीमध्ये १०५ वटा कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै १३७ वटा कम्पनीको घट्नका साथै एउटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ९१ करोड ३३ लाख रुपियाँबराबरको शेयर किनबेच भएको छ ।

त्यस्तै सानिमा माइ हाइड्रोपावरको ८३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने अपि पावरको ६५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।