दूधकोसी र अरुणमा बाढीको सम्भावना, सतर्क रहन आग्रह


काठमाडौं ।

गए रातिदेखिको वर्षाका कारण खोटाङको ऐसेलुखर्क, दूधकोसी रबुवाबजार, ओखलढुङ्गा, मानेभन्ज्याङलगायत क्षेत्रका नदीमा पानीको बहाव बढेको छ।

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले दूधकोसी नदी र यसका सहायक नदीमा तथा टाप खोला, रावा खोला, मौलुङ खोला र अन्य स–साना खोलामा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

सङ्खुवासभाको खाँदबारी, अरुण तुर्केघाट वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा भएको र उक्त क्षेत्र भएर बहने अरुण नदी र यसका सहायक नदी तथा सभा खोला, हिन्वा खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने विभागले जनाएको छ।

नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ।