उड्डयन प्राधिकरणका महानिर्देशकको अक्षमता

अधिकारीकै पालामा ७ हवाई दुर्घटना, ११८ को मृत्यु


–सांसदलाई गरे गालीगलौज
–कमिसनको चक्करमा मस्त
–उच्च राजनीतिक नेतृत्वसँगै सेटिङ

काठमाडौं ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी प्रतिनिधिसभाका सांसदहरूको सुझावलाई खिल्ली उडाउँदै उल्टै सांसदहरूमाथि खनिन पुग्नुभएको छ।

पछिल्लोपटक सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि सांसदहरूले नागरिक उड्डयन प्राधिकरणको नेतृत्वले संवेदनशीलता अपनाउन नसक्दा हवाई दुर्घटना हुने क्रम बढेको र आगामी दिनमा यसतर्फ सर्तक रहनुपर्ने आवश्यकता औंल्याउँदा त्यसको जवाफमा अधिकारीले सांसदहरूलाई जथाभावी गालीगलौज र व्यङ्ग्य गर्नुभएको छ । केही सांसदले उहाँको राजीनामा समेत मागेका थिए । त्यसपछि आक्रोशित भएका उहाँले सामाजिक सञ्जालमार्फत् अराजक किसिमले सांसदहरूलाई व्यङ्ग्य गर्दै गाली गर्नुभएको हो ।

महानिर्देशक अधिकारीले आफ्नो पदीय मर्यादा बिर्संदै सांसदहरूलाई गाली गरेपछि उहाँ झनै विवादमा मुछिनुभएको छ । उहाँले आफ्नो अक्षमता ढाकछोप गर्न सांसदहरूलाई गालीगलौज गर्नुभएको हो । उहाँले आफ्नो सामाजिक सञ्जालमा स्टाटस राख्दै सांसदलाई गधा र आफूलाई सिंहको उपाधि दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘गधाको चुनौती सिंहले वास्ता गर्नुको अर्थ छैन ।’ उहाँले सांसदको क्षमतामाथि प्रश्न उठाउँदै भन्नुभएको छ– ‘राम्रै छन्, अध्ययन गर्छन्जस्तो लागेको थियो ।’

सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायतलाई बोलाएर छलफल गरेको थियो । छलफलमा बोल्दै सांसदहरूले प्राधिकरणका महानिर्देशक अधिकारीको अक्षमताका कारण पटकपटक हवाई दुर्घटना भएको भन्दै अधिकारीको कार्यक्षमतामाथि प्रश्न मात्रै उठाएनन् अधिकारीको राजीनामासमेत मागे । अधिकारी भने सांसदको प्रश्नको उत्तर नदिएर पन्छनुभएको थियो ।

बैठकमा कांग्रेस सांसद उदयशमसेर जबराले दुर्घटना हुने क्रम बढ्दा पनि प्राधिकरण नेतृत्व संवेदनशील बन्न नसक्नु अक्षमता भएको बताउनुभएको थियो । रास्वपाका सांसद शिशिर खनालले अधिकारीकै पालामा धेरै हवाई दुर्घटना भएको र मान्छेहरू मर्ने क्रम बढेको भन्दै अक्षम नेतृत्वका कारण यस्तो अवस्था आएको बताउनुभएको थियो । अधिकारी महानिर्देशक भएपछि सबैभन्दा बढी ७ वटा हवाई दुर्घटना भएका छन् भने १ सय १८ जनाको मृत्यु भएको छ ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि विभिन्न राजनीतिक नेतृत्वसँग पहुँच राखेर घमण्ड गर्दै हिँड्ने तर आफूले गर्ने काम र जिम्मेवारीमा खासै ध्यान दिन नसक्ने आरोप प्राधिकरणकै कर्मचारीको छ। अधिकारीले कमिसनको लोभमा आवश्यक नभएको ठाउँमा एयरपोर्ट बनाउने र राज्यकोषको अनावश्यक पैसा खर्च गर्ने गरेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कैंयौं उजुरी परेका छन्।

वार्षिक ३५ अर्ब बजेट रहेको प्राधिकरणमा अनावश्यक ठाउँमा एयरपोर्ट बनाउन लगाएर त्यसबापत करोडौं कमिसन खाने गरेको आरोप उहाँमाथि छ। पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको लागतसमेत दोब्बर बढाएर अनियमितता गरेको आरोपसमेत उहाँमाथि लाग्दै आएको छ।

त्रिभुवन विमानस्थलमा पसल भाडामा लगाउँदा समेत सुवास श्रेष्ठ नामक व्यक्तिलाई परिचालन गरी मोटो कमिसन बुझ्ने गरेको आरोपसमेत अधिकारीमाथि छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका महत्वपूर्ण व्यक्तिहरू मेरो पहुँचमा छन् भन्दै उहाँले आफ्ना निकटस्थहरूलाई भन्ने गरेको र त्यसैले आफूलाई कसैले कारबाही गर्न नसक्ने भन्दै हिँड्ने गरेका कार्यालयका कर्मचारीहरू बताउँछन्।

अधिकारीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निकटता राखेर तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई मन्त्री पदबाटै हटाइदिनुभएको थियो। शुरूमा मन्त्री किराँतीले अधिकारीलाई हटाउन स्पष्टीकरण सोध्नुभएको थियो । तर, अधिकारीले ‘प्रचण्ड’ र उहाँकी छोरी गंगा दाहालसँग निकटता राखेर पछि मन्त्री किराँतीलाई नै मन्त्रीबाट हटाउन सफल हुनुभएको मन्त्रालय स्रोत बताउँछ।

स्रोतका अनुसार अधिकारीले सत्तारुढ दल कांग्रेस, एमाले तथा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका केही नेताहरूसँग विशेष सम्बन्ध राख्दै आएकाले उहाँ जतिसुकै असक्षम र विवादित भए पनि कारबाहीबाट जोगिँदै आउनुभएको बताइएको छ ।