झन्डै ८० सहसचिवको सरुवा सूची तयार, आकर्षक ठाउँमा जान शक्तिकेन्द्रमा दौडधुप


–अब बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्ने
–सूची बन्दै, हेरफेर हुँदै
–सहसचिव तौलँदै मन्त्रीहरू

काठमाडौं ।

सरकारले सचिव पछि ठूलो संख्यामा सहसचिवको सरुवा गृहकार्य गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगको समन्वयमा विभिन्न मन्त्रालय, आयोग, निकायमा रहेका सहसचिव सरुवाका लागि सूची तयार पारेको बताइएको छ।

मन्त्रालयले झन्डै ८० जना सहसचिव सरुवा गर्ने गरी सूची तयार पारेको स्रोतले जानकारी दिएको छ। तर, सूचीमा नाम फेरबदल भइरहेको स्रोतको दाबी छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेयता पहिलोपटक ठूलो संख्यामा सहसचिवको सरुवा हुन लागेको हो। यसअघि सरकारले २२ जना सचिवको सरुवा गर्दै निजामती प्रशासनलाई आफूअनुकूल बनाउने प्रयास थालेको थियो।

प्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थ व्यक्ति तथा सत्तारुढ दल निकट उच्च नेतृत्वले विभिन्न मन्त्रालय र निकायमा आफूअनुकूल सहसचिव लैजाने पुरानै परम्पराअनुसार यसपटक पनि सरकारले ठूलो संख्यामा सहसचिव सरुवाको गृहकार्यलाई तीव्र बनाएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले झन्डै ८० जना सहसचिव सरुवाको निर्णय गर्नेछ।

ठूलो संख्यामा सहसचिव सरुवा हुने भएपछि विभिन्न मन्त्रालय, प्रदेश, निकाय र आयोगमा रहेका सहसचिवहरू आकर्षक ठाउँमा सरुवा हुन शक्तिकेन्द्रमा दौडधुप थालेका छन् । केन्द्रमा रहेका कम आकर्षक मन्त्रालय तथा निकायमा रहेका सहसचिवहरू आकर्षक मानिएका मन्त्रालय र निकायमा जान सत्तारुढ राजनीतिक दलका उच्च नेतृत्व तथा प्रधानमन्त्री, मन्त्री निकटका व्यक्तिहरूलाई भेटेर आफ्नो पक्षमा माहोल बनाउन व्यापक दौडधुप गर्दै भेटघाटलाई तीव्रता दिइरहेको बताइएको छ।

अधिकांश मन्त्रालयका मन्त्रीहरूले आफ्नो मन्त्रालय र मातहतका निकायमा कसलाई ल्याउने भनेर सहसचिव तौलने काम गरिरहेको स्रोतको दाबी छ । ‘मन्त्रीहरू सहसचिव तौलने काम गरिरहेका छन्, सहसचिवहरू पनि मन्त्रीलगायतका शक्तिकेन्द्र समक्ष दौडधुप गर्ने क्रमलाई तीव्रता दिएका छन्’ –स्रोतले भन्यो।

नियमअनुसार सहसचिव सरुवाको प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नुपर्छ । सामान्य प्रशासनले प्रस्ताव गरी सो सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउनुपर्ने र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै सरुवा हुने कानुनी प्रावधान छ । तर, सहसचिवहरूको प्रारम्भिक सूची प्रायः प्रधानमन्त्रीसँगको सल्लाहमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नै बन्ने गरेको छ। यो विगतदेखिकै परम्परा हो। यसपटक पनि सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नै तयार भइरहेको बताइएको छ।

निजामती क्षेत्रमा विशेष गरी सहसचिवहरूका लागि गृह मन्त्रालय, अर्थ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लोकसेवा आयोग बढी आकर्षक निकायका रूपमा रहेका छन् । ती निकायमा जान सहसचिवको बढी दौडधुप रहेको बताइएको छ ।