हारसँगैं चर्च ब्वाइज छनोट हुन सकेन


काठमाडौं ।

एएफसी च्यालेन्ज लिग प्रिलीमीनरी राउन्डअन्तर्गत खेलमा नेपाली क्लब चर्च ब्वायज युनाइटेड पराजित भएको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वायज भुटानको पारो एफसीसँग २–१ ले हारेको हो ।

योसँगैं चर्च ब्वायज एएफसी च्यालेन्ज लिगमा छनोट हुन सकेन । पारो भने पहिलो पटक नेपाली टिममाथि जित हासिल गर्दै लिगमा छनोट भयो ।

खेलमा पारोले पहिलो गोल गरेको थियो । तर, १८ औं मिनेटमा गोल भएकोमा एसिस्टेन्ट रेफ्रीले अफसाइडको घोषणा गरेपछि पारो अग्रता लिन असफल भयो । होन्डाले ३१ औं मिनेटमा झण्डै २५ यार्डबाट गरेको फ्रिकिक प्रहारमा बल पोस्टमा लागेर फर्किएको थियो ।

यसपछि चर्च ब्वायजले ३९औं मिनेटमा लाकेन लिम्बुको गोलमार्फत् अग्रता बनायो । ग्याबो मोसेजद्वारा दिइएको हेडर पासमा लाकेनले गोल गरेका थिए । तर, यो गोलमा खुशी मनाएका नेपाली टिम र दर्शक छिटै स्तब्ध बन्नुप¥यो ।
एक मिनेटमै पारोका लागि किंगा वाङचुकले गोल फर्काएर खेल बराबरीमा पु¥याएका थिए । यसपटक नेपाली कीपर छलिसकेको अवस्थामा किंगाले सहजै गोल गरे ।

दोस्रो हाफमा विलियम ओपोकुले नेपाली टिम र दर्शकलाई निरास पारे । उनले ६६औं मिनेटमा डिबक्सबाहिरबाट गोल गरेर पारोलाई २–१ को अग्रतामा राखेका थिए । ओपोकु नेपालको ए डिभिजन लिग खेलेर दशरथ रंगशालाको मैदानमा अनुभव लिइसकेका खेलाडी हुन् ।

अन्तिम ५ मिनेट थपिएकोमा मोसेजले गोल गर्न नसक्दा चर्च ब्वायज बराबरी गर्न चुक्यो । रोहन कार्कीले लामो पास दिएका थिए। जसमा, मोसेजले क्लोज रेन्जबाट हेडर गरेपनि बल पोस्टभन्दा बाहिरियो । यसपछि गोल नहुँदा पारोले २–१ को जित निकाल्यो ।

अन्तर्राष्ट्रियस्तरीय दशरथ रंगशाला हिलाम्ये

दशरथ रंगशालामा एसियाका स्टार खेलाडी केइशुके होन्डालाई हेर्न दर्शकको बाक्लै उपस्थित भएको थियो । तर, खेल हुने अघिको मुसलधारे वर्षाले गर्दा मैदान पुरै हिलाम्ये बनेको थियो । यसले बलको गतिलाई पनि कम पारियो र एकातिर हान्दा बल एकातिर पुग्नेसँगै खेलाडी लड्ने क्रम पनि रोकिएन । हिलोले यति प्रभाव पा¥यो कि सेतो जर्सीमा अंकित नम्बर पनि नदेखिने भएको थियो ।

केही दिनअघि मात्रै दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको समाचार छापिएको थियो । यसले फुटबल प्रेमीहरुलाई खुशी प्रदान गरेको थियो । तर, वर्षाले गर्दा त्यो रंगशालाको मैदानमा खेल होइन असार १५ को झलक दर्शाइरहेको थियो ।