साइमेक्स इन्कको ठगी धन्दा पत्ता लगाउन मेसिनबाटै परीक्षण गर्ने तयारी

विभागद्वारा गाडीको क्षमता मापन गर्ने मेसिनको खोजी


काठमाडौं ।

सरकारसँग विद्युतीय गाडी (ईभी) को क्षमता मापन गर्ने च्यासी डाइनोमोमिटर र मोटर डाइनोमोमिटरलगायतका मेसिन नहुँदा चिनियाँ गाडी बीवाईडी आपूर्ति गर्ने साइमेक्स इन्कको ठगी धन्दा पत्ता लाग्न र नियन्त्रण हुन सकेको छैन। बीवाईडीको नेपालस्थित बिक्रेता साइमेक्स इन्कले बढी किलोवाटको ईभी गाडीलाई कम किलोवाट देखाएर धमाधम राजस्व छली गर्दै आइरहेको आशंकामा राजस्व अनुसन्धान विभागले साइमेक्स इन्कको बीवाईडीसम्बन्धी कारोबारका सबै कागजात नियन्त्रणमा लिएर छानबिन गर्दै आइरहेको छ।

राजस्व अनुसन्धान विभागले नेपालमा आयात हुुने सबै प्रकारका बीवाईडी गाडीको सम्पूर्ण विवरण र उसले भन्सारमा पेस गरेका कागजातको विवरण भन्सार विभागबाटै मगाएर विस्तृतमा अनुसन्धान जारी राखिएको जनाएको छ । यद्यपि, साइमेक्सले भन्सारमा पेस गरेको कागजातलाई मात्रै आधार मानेर अनुसन्धान टुंग्याउन नसकिने निष्कर्षमा राजस्व अनुसन्धान विभागका अनुसन्धान अधिकृतहरू पुगेका छन् । ‘साइमेक्सले नेपालमा बीवाईडी गाडी ल्याउँदा भन्सारमा पेस गरेका कागजातलाई मात्रै आधार मान्न सक्ने अवस्था आएन, अब ती गाडीको क्षमता मापन गर्नुपर्ने निष्कर्षमा पुगेका छौं’ –विभागका एक अनुसन्धान अधिकृतले नेपाल समाचारपत्रसँग भने ।

विभाग स्रोतका अनुसार साइमेक्स इन्कका मुख्य सञ्चालकका रूपमा रहेका यमुना श्रेष्ठ र समीर श्रेष्ठलगायतले विभागमा पुगेर अनुसन्धान प्रक्रिया चाँडै सकाउन विभागका अनुसन्धान अधिकारीहरूलाई दबाब दिइरहेका छन् । दबाब दिएर चाँडै सकाउँदा उन्मुक्ति पाउन सक्ने सोचले श्रेष्ठद्वयले दबाब दिइरहेको बताइएको छ । यद्यपि, विभागका अनुसन्धान अधिकारीहरूले मेसिनद्वारा स्याम्पलिङस्वरूप केही ईभी गाडीको क्षमता मापन नगर्दासम्म अनुसन्धान पूरा हुन नसक्ने बताउँदै आइरहेका छन् । उनीहरूका अनुसार ईभी गाडीको क्षमता मापन गर्ने खालका मेसिनहरू नेपालमा नभए विदेशबाटै मेसिन झिकाएर पनि ती गाडीको क्षमता मापन गर्नुपर्ने हुन सक्छ । सो कार्य नहुँदासम्म अनुसन्धान जारी रहन्छ । यसको अनुसन्धान मेसिनद्वारा ईभी गाडीको क्षमता मापन गरेपछि मात्रै टुंगिने विभागका अधिकारीहरूको भनाइ छ।

राजस्व अनुसन्धान विभागले बीवाईडीले राजस्व छलेको बारेमा छानबिन गर्ने क्रममा भन्सार विभागसँग साइमेक्स इन्कलगायत अन्य कम्पनीले नेपालमा हालसम्म आयात गरेका ईभी गाडीको सम्पूर्ण विवरण, आयातकर्ताको नाम, मोटर क्षमतालगायतको सम्पूर्ण विवरण माग गरेको थियो। भन्सार विभागले सबै विवरण उपलब्ध गराए पनि राजस्व अनुसन्धान विभागले भन्सार विभागको विवरणलाई मात्रै आधार मान्न नसकिने जनाएको छ।

‘साइमेक्स इन्कलगायतले भन्सारमा घोषणा गरेका विषय र पेस गरेका कागजातलाई मात्रै आधार मान्न सक्ने अवस्था रहेन त्यसैले ईभी गाडीको क्षमता मेसिनबाटै मापन गरेर वास्तविकता पत्ता लगाउनुपर्ने निष्कर्षमा पुगेका हौं’ –विभागका ती अनुसन्धान अधिकृतले नेपाल समाचारपत्रसँग भने । ती अनुसन्धान अधिकृतका अनुसार ईभीलगायतका गाडीको क्षमता मापन गर्ने मेसिन नेपालका कुन कुन निकायमा छन् भनेर त्यसका बारेमा समेत खोजतलास थालिएको छ।

‘त्रिभुवन विश्वविद्यालयमा मेकानिकल इन्जिनियर विषय पढाइने र त्यसका लागि ल्याबसमेत रहेको र सो ल्याबमा त्यस्तो मेसिन छ कि छैन भनेर बुझ्ने काम भइरहेको छ, यदि त्यहाँ मेसिन रहेछ भने मापन गर्न सक्ने अवस्था रहन्छ’ –विभाग स्रोतले भन्यो।
प्राविधिकहरूका अनुसार ईभीको चक्कामा के कति पावर आएको छ भनेर नाप्न च्यासी डाइनोमोमिटर प्रयोग गरिन्छ भने गाडीको वास्तविक क्षमता मापन गर्न मोटर डाइनोमोमिटर प्रयोग गरिन्छ। नेपालमा यी दुवै उपकरणहरू नहुँदा ईभी गाडीका आयातकर्ताले गाडीको क्षमताका बारेमा जस्तो कागजात पेस गर्छन् त्यसैलाई विश्वास गर्नुपर्ने अवस्था रहेको छ । जसका कारण पनि अर्बौं राजस्व ठगी भइरहेको बताइएको छ।

विदेशमा भने सरकारी निकायले नै यस्ता गाडीको क्षमता नापेर सोहीअनुसार राजस्व लिने गरेको प्राविधिकहरूको भनाइ छ। ती मेसिनको मूल्य झन्डै ५ करोड पर्छ। सरकारले ५ करोडको मेसिन किन्न नसक्दा ईभी गाडीबाट लिनुपर्ने झन्डै ५ अर्ब बराबरको राजस्व गुमेको स्रोतको दाबी छ। सरकारी निकायले सो मेसिन किन्न उदासिनता देखाउनुलाई शंकाका रूपमा हेरिँदै आइएको छ ।

हाल नेपालको जम्मा गाडी बिक्रीमा ईभी गाडीको बिक्री ७० प्रतिशत छ । यति धेरै मात्रामा ईभी गाडी बिक्री हुँदा पनि ती गाडीको परीक्षण गर्ने ५ करोडको मेसिन किन्न नसक्नुले सरकार ईभी गाडी आयातकर्ताबाट प्रभावित भएको हुन सक्ने आशंकालाई थप बल पुगेको छ। राजस्व अनुसन्धान विभागले अनुसन्धानका क्रममा हालसम्म नेपालमा २३ हजार ३ सयभन्दा बढी ईभी गाडी भित्रिसकेको फेला पारिएको जनाएको छ । यसअघि बजेटको समयमा सूचना चुहिँदा बजेट अघिमात्रै २५ सय ईभी गाडी रातारात नेपाल भित्रिएका थिए ।

यातायात व्यवस्था विभागअन्तर्गत रहेको सवारी परीक्षण कार्यालयलका एक अधिकृतका अनुसार दुई वर्ष अघिसम्म १ सय ५० किलोवाटकै गाडी आयात गर्ने गरिएको थियो तर अहिले आएर १ सय किलोवाटको गाडी आयात गर्ने गरिएको कागजपत्र पेस हुने गरेको छ, जुन शंकास्पद छ । बीवाईडीले किलोवाट घटाएर गत वर्षमात्रै करिब ३ हजार गाडी बिक्री गरेको दाबी स्रोतको छ।