रंगिला लिक्वर किङदेखि भगौडासम्म

0
Shares

‘लिक्वर किङ’, ‘द म्यान अफ गुड टाइम्स’ भनेर चिनिने भारतीय व्यापारी विजय माल्या हिजोआज भगौडा भनेर चिनिन्छन् । साढे ९ हजार करोड भारतीय रुपियाँ लिएर विदेश भागेको आरोप लागेका विजय माल्यालाई भारत फर्काउने प्रक्रिया चलिरहेको छ । कुनैबेला उनी बलिउड, खेलकुद र कर्पोरेट जगतमा चर्चित थिए ।

‘फ्लाइ द गुड टाइम्स’ र ‘द टेस्ट अफ रियल इन्डिया’जस्ता ट्यागलाइन लिएर व्यापारको शिखर पुगेका माल्याको कथा कुनै फिल्मको कथाभन्दा कम छैन । १८ डिसेम्बर १९५५ मा कोलकातामा जन्मेका माल्याका पिता विट्टल माल्या पनि शालीन व्यक्तित्वका व्यवसायी थिए । शुरूमा व्यापारमा रुचि नभएका माल्याले आफ्नो बुबाबाट व्यवसायको चाल सिकेका थिए । उनलाई पढाइमा पनि खासै रुचि थिएन । एकदिन छोराको बानीबाट दिक्क भएर माल्याका बुबाले उनलाई थप्पड हानेका थिए । त्यसपछि उनले व्यवसायमा रुचि राख्न थाले । एक अन्तर्वार्तामा विजय माल्याले आफ्नो बुबाको त्यो थप्पडले आफ्नो जीवन परिवर्तन भएको बताएका थिए ।

बुबाको विरासतबाट मदिरा व्यवसायमा आएका माल्या त्यतिबेला जम्मा २८ वर्षका थिए । उनले टिभी र पत्रपत्रिकाहरूमा विज्ञापन दिएर किङफिसर बियरको प्रवद्र्धन गर्दै मदिरा व्यवसायलाई कर्पोरेटकको स्वरूप दिए ।

किङ फिसर बियर दक्षिण भारतमा बियर उत्पादन गर्ने कम्पनीले शुरू गरेको थियो । सन् १९४७ मा विजय माल्याका पिता विट्टल माल्या यस कम्पनीको निर्देशक बनेका थिए भने १९८३ मा बाबुको मृत्युपछि उनी सो कम्पनीलाई ह्यान्डल गरेका थिए । त्यसपछि बियर व्यवसाय प्रवद्र्धन गर्न किङ फिसर क्यालेन्डर शुरू गरियो । किङ फिसर बियरको मार्केटिङ स्ट्राटेजीस्वरुप उनले आईपीएल टिम किन्नुका साथै किङ फिसर एयरलाइन्स पनि शुरू गरे । किङ फिसरलाई प्रवद्र्धन गर्न उनले आरसीबी आईपीएल टोली, फर्मुला वन टोली किनेका थिए ।

आरसीबी आईपीएलसँग किङ फिसरको विज्ञापन मानिसको दिमागमा अझै छ । विज्ञापनमा धोनीदेखि विराट कोहली र क्रिस गेलसम्मका क्रिकेटरहरू उ… ला… ला… ला… ले ओ…को धुनमा नाचिरहेका देखिएका थिए । सन् २००८ मा उनले आईपीएल टिम रोयल च्यालेन्जर्स बैंग्लोर किनेका थिए । फर्मुला वन टिम फोर्स इन्डिया किनेपछि भने उनको पतन शुरू भयो ।

किङ फिसर एयरलाइन्स २००३ मा स्थापना भएको थियो, तर २००५ मा मात्रै सञ्चालन शुरू भयो । छोरा सिद्धार्थ माल्यालाई उनको जन्मदिनमा किङ फिसर एयरलाइन्स उपहार दिएका थिए ।

एयरलाइन्सले निःशुल्क हवाई यात्राको अवसर दिँदै विलासी यात्राको सुविधा दिँदै आएको थियो । किङ फिसर एयरलाइन्सलाई पाँचतारे हवाई यात्रा भनेर चिनिन्थ्यो । व्यवसाय विस्तार गर्न उनले सन् २००७ मा एयर डेक्कन एयरलाइन खरिद गरे । एयर डेक्कनको मर्जरसँगै ७१ वटा विमान र ३० प्रतिशत यात्रु पनि उसको हिस्सामा परेका थिए । तर, एयर डेक्कनका ग्राहक किङ फिसरमा जान्छन् भन्ने माल्याको अनुमान गलत साबित भयो । एयर डेक्कनका ग्राहक किङ फिसरको सट्टा अन्य सस्तो एयरलाइन्सतिर फर्कन थाले ।

सन् २०११ देखि किङ फिसरको पतन शुरू भयो । एयरलाइन्सले लगातार घाटा बेहोर्न थाले । तीन वर्षमा एक हजार करोड रुपियाँ घाटा सहेको एअरलाइन्स उडान बन्द गर्नुपर्ने अवस्थामा पुग्यो । कर्मचारीको तलब रोकियो, आम्दानी घट्न थाल्यो, घाटा बढ्न थाल्यो र ऋणको बोझ हाबी हुन थाल्यो । माल्याले ऋण घटाउन बजारबाट रकम जुटाउन सकेनन् । तर, माल्याको पार्टी र रंगिला जीवनशैलीमा कुनै फरक थिएन । सन् २०१२ मा किङ फिसरको लाइसेन्स रद्द भयो । फेब्रुअरी २०१३ मा अन्तर्राष्ट्रिय उडान अधिकार पनि निलम्बन भयो भने सन् २०१४ मा कम्पनीले आफूलाई दिवालिया घोषित गर्यो ।

सन् २०१६ मा माल्या एसबीआईसहित १३ बैंकबाट ९ हजार करोड रुपियाँ ऋण लिएर इङल्यान्ड भागे । त्यसयता उनको सुपुर्दगीका विषयमा मुद्दा चलिरहेको छ । विजय माल्याकी पहिलो पत्नी एयर इन्डियाकी एयर होस्टेस समीरा त्यब्जी थिइन् । समीराबाट एउटा छोरा जन्मिएपछि समीरासँग उनको सम्बन्ध विच्छेद भयो । त्यसपछि माल्याले आफ्ना साथी मेहमूदकी पत्नी रेखासँग विवाह गरे । उनकी एउटी छोरी लैलालाई माल्याले धर्मपुत्रीका रूपमा ग्रहण गरे । रेखाबाट माल्याका दुई छोरी जन्मिए । सन् २०१८ मा ६२ वर्षीय माल्याले ३८ वर्षीया पिंकी लालवानीसँग प्रेम सम्बन्ध जोडेका थिए ।

कयौं भारतीय र विदेशी अभिनेत्रीसँग नाम जोडिएका माल्याको प्राइभेट पार्टीको चर्चा विश्वभर हुन्छ । सयौं गाडी, दर्जनौँ महलका सौखिन माल्याको रसिक जीवनशैली ग्याल्मर दुनियाँलाई माथ खुवाउने खालको छ ।