मार्केटिङ अरूको मन जितेर आफ्नो वस्तु बिक्री गर्ने कला हो । बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने पुरानो उखान हो । ग्राहकलाई आफ्नो बोलीको प्रभावले वस्तुको गुण र महत्व दर्साउनसक्ने विक्रेता नै आफ्नो धेरैभन्दा धेरै सामान बिक्री गर्न सफल रहन्छन् । खुद्रा विक्रेताले आफ्नो सामानलाई पसलमा आकर्षक तवरले सजाएर राखेका हुन्छन् भने ठूला व्यवसायीले विद्युतीय, छापा तथा अन्य आमसञ्चारका माध्यममार्फत चित्ताकर्षक ढंगले उत्पादनको विज्ञापन गर्छन् ।
मार्केटिङ धेरै किसिमबाट गर्न सकिन्छ । तीमध्ये केही निम्नानुसार छन् :
इमेल मार्केटिङ
धेरै ठूला–ठूला व्यवसायीहरूले इमेल मार्केटिङलाई ग्राहकसँग जोड्ने सबैभन्दा प्रत्यक्ष र प्रभावकारी तरिकाको रूपमा प्रयोग गर्छन् । उनीहरूले सम्भावित र लक्षित ग्राहकलाई इमेलबाट बिक्री, छुट, कुपन कोड, उत्पादन बिक्री र यस्तैबारे जानकारी दिने गर्छन् ।
सामग्री मार्केटिङ
सामग्री मार्केटिङ भनेको तपाईंले प्रचार गरिरहनुभएको उत्पादन र सेवाहरूको बारेमा मानिसहरूलाई जानकारी दिनु हो । सामग्री मार्केटिङले व्यवसायहरूलाई बढ्दो ट्राफिक, ब्रान्ड जागरूकता, नेतृत्व उत्पादन, अनलाइन फ्लोइङलगायत धेरै लक्ष्य प्राप्त गर्न मद्दत गर्नसक्छ ।
न्युरो मार्केटिङ
खरिद प्रक्रियामा मस्तिष्कको भूमिकाको अध्ययन, अनुसन्धान गर्नु र हाम्रो मस्तिष्कले रुचाउने प्रकारका व्यावसायिक उत्पादन तथा विज्ञापन सामग्रीको पहिचान गर्नु नै न्युरो मार्केटिङ हो । संसारमा हाल एक सयभन्दा बढी न्युरो मार्केटिङ कम्पनी रहेको आँकलन छ । यस्ता कम्पनीले बजारमा कुनै पनि वस्तु अथवा विज्ञापनलाई उपभोक्तामाझ ल्याउनुअगावै त्यस्ता सामग्रीले उपभोक्ताको मस्तिष्कमा पार्ने प्रभाव अध्ययन गर्नलाई इइजी, एमइजी, एफएमआरआईजस्ता ब्रेन स्क्यान प्रविधिको प्रयोग गर्छन् । मौखिक सर्वेक्षण गर्दा व्यक्तिले सत्य नै जवाफ दिन्छ भन्ने नभएकाले पनि मौखिक सर्वेक्षणको नतिजालाई आधार मानेर गरिने मार्केटिङ र प्रोडक्ट डिजाइनका योजना धेरै मात्रामा असफल हुने गर्छन् । तर, ब्रेन स्क्यानका प्रविधिमार्फत वस्तु वा तीसम्बन्धी विज्ञापनले मस्तिष्कमा पैदा गर्ने प्रतिक्रियालाई सोझै अध्ययन गर्न सकिने भएकाले न्युरो मार्केटिङ विधालाई प्रोडक्ट डिजाइनको विश्वसनीय तथा दरिलो आधार मान्न थालिएको छ ।

नोवेल पुरस्कार विजेता अर्थशास्त्री ड्यानियल कानमानका अनुसार मानिसको निर्णय गर्ने प्रक्रियालाई छिटो र ढिलो दुई प्रकारमा विभाजन गर्न सकिन्छ । कुनै पनि वस्तुको गन्ध, रङ वा त्यस वरिपरिको संगीतले त्यस वस्तुप्रतिको पहिलो प्रभाव निर्धारण गर्छ । जसले हाम्रो छिटो निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्छ । तर, गहन विषयवस्तुमा ढिलो निर्णय प्रक्रिया हाबी हुने गर्छ र यस्तो अवस्थामा सुझबुझका साथ सचेत तवरले निर्णय लिने गर्छौं ।
सोसल मिडिया मार्केटिङ
प्रत्येक व्यवसायको एक सोसल मिडिया खाता हुन्छ । जुन सधैं यसको उत्पादन वा सेवाको मार्केटिङका लागि प्रयोग गरिन्छ । फेसबुक, ट्विटर, युट्युब, र इन्स्टाग्राम सम्भावित ग्राहकसम्म पुग्न उत्तम प्लेटफर्म हुनसक्छ । यसबाट पनि प्रभावकारी मार्केटिङ गर्न सकिन्छ ।
वर्ड अफ माउथ मार्केटिङ
वर्ड अफ माउथ मार्केटिङ भनेको अनलाइन र अफलाइन सञ्चारको माध्यमको प्रयोग गरेर वा एक व्यक्तिले प्रत्यक्षरूपमा अर्को व्यक्तिलाई कुनै पनि उत्पादन वा सेवाबारे जानकारी दिनु हो । यसमा व्यवसायी र ग्राहकबीचको अन्तरक्रियाका साथै ग्राहकले अनलाइनमार्फत आफूलाई मनपरेको उत्पादन वा सेवाको बारेमा आफ्नो अनुभव सेयर गर्नेलगायत क्रियाकलाप पर्दछन् । ग्राहक वा उपभोक्ताले आफ्नो अनुभव सोसल मिडिया वा ब्लगमा पोस्ट गरेर पनि बजार प्रवद्र्धनलाई सहयोग पु¥याउन सक्छ ।
सर्च इन्जिन अप्टमाइजेसन (एसइओ)
यो कम्प्युटरबाट गरिने डिजिटल मार्केटङ विधि हो । जुन इन्टरनेटमा तपाईंले खोजेको सामानको नाम वा त्यससँग सम्बन्धित कुनै शब्द टाइप गरेपछि देखिन्छ। यसलाई सर्च इन्जिन अप्टमाइजेसन भनिन्छ । अहिले यो पनि प्रभावकारी मार्केटिङ विधि भएको छ ।
प्रत्यक्ष मार्केटिङ
व्यापारीले सिधै आफ्नो ग्राहक भएको ठाउँमा गई उसलाई फाइदा हुने विषय बताएर प्रत्यक्ष मार्केटिङ गर्ने प्रचलन पुरानै हो । आफ्नो सामान लिने ग्राहकलाई सिधै सम्पर्क गर्दा ग्राहकको मनोभावना बुझेर सोहीअनुरुप व्यवहार गर्न सहज हुनुका साथै मार्केटिङको अन्य खर्चमा कटौती भई मुनाफा बढी प्राप्त हुन्छ ।











प्रतिक्रिया