विराट: क्रिकेट जगतका विराट खेलाडी

0
Shares

अमेरिका र बेस्ट इन्डिज्मा सम्पन्न टी–२० विश्वकप २०२४ मा भारतले उपाधि जितेपछि विराट कोहलीले संन्यास लिएका छन् । विराटले दक्षिण अफ्रिकाविरुद्ध फाइनल खेलमा शानदार ७६ रन बनाएपछि भारतले उपाधि जित्न सकेको हो । विराटलाई यस विश्वकप फाइनलका उत्कृष्ट खेलाडीसमेत बन्ने सौभाग्य प्राप्त भयो।

विराट कठिन समयमा पिचमा टिक्ने खेलाडी हुन् भनेर धेरैपटक साबित गरिसकेका छन् । यस प्रतियोगितामै हेर्ने हो भने फाइनल खेल्नुअघि विराटको ७ खेलमा कुल ७५ रन बनेको थियो । तर, फाइनलमा तीन विकेट ३४ रनमै पतन भएपछि उनले सम्हालिएर खेल्दै ७६ रनको महत्वपूर्ण इनिङ खेले । साथै, उनले दबाबमा खुलेर खेल्ने आफ्नो खुबी साबित गरे ।

विराटले आफ्नो करिअरमा टी–२० विश्वकप र एकदिवसीय विश्वकप जित्ने उपलब्धि पनि हासिल गरेका छन् । भारतले सन् २०११ को ५० ओभरको विश्वकप उपाधि जित्दा विराट टोलीका सदस्य थिए । अहिले १३ वर्षपछि भारतले विश्वकप उपाधि जित्दा पनि उनी टोलीका सदस्य रहन सफल भए ।

घरेलु करिअर

-दिल्ली यू १५ मा खेल्दै सन् २००२ देखि क्रिकेट करिअर शुरू गरेको

-सन् २००४ मा विजय मर्चेन्ट ट्रफीमा उच्चतम् रन बनाउन सफल ।

-सन् २००६ फेबु्रवरीमा दिल्लीबाट एकदिवसीय घरेलु क्रिकेटमा डेब्यू ।

-पहिलो श्रेणीको डेब्यू खेलमा १० रनमात्रै बनाए पनि सन् २००६ कै डिसेम्बरमा कर्णाटकविरुद्ध ९० रन बनाउन सफल । यो टेस्टमा उनको रनले दिल्लीलाई बराबरी राखेको थियो ।

-सन् २००७ मा घरेलु टी–२० मा हिमाञ्चल प्रदेशविरुद्ध डेब्यू ।

-यू–१९ भारतीय टोलीका कप्तान बन्न सफल

-सन् २००८ मा मलेसियामा भएको आईसीसी यू–१९ विश्वकपमा भारतलाई उपाधि दिलाउन सफल

एकदिवसीय करिअर

सन् २००८ मा मलेसियामा यू–१९ विश्वकपमा उपाधि

एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो खेल श्रीलंकाविरुद्ध खेलेका थिए ।

सन् २००९ मा अस्टे«लियामा भएको इमरजिङ प्लेयर्स प्रतियोगितामा ९ इनिङमा ४०५ रन बनाउन सफल

सन् २००९ मा अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा श्रीलंकाविरुद्ध पहिलो शतक ।

सन् २०११ मा भारतमै भएको विश्वकपमा पहिलोपटक खेल्दै बंगलादेशविरुद्ध डेब्यू खेलमै शतक प्रहार

टेस्ट करिअर

बेस्ट इन्डिजविरुद्ध सन् २०११ मा टेस्ट क्रिकेटमा डेब्यू गर्दै २९ शतक प्रहार ।

एकदिवसीयमा ५० शतक

अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्नेमा भारतकै खेलाडी सचिन तेन्दुलकरपछि विराट दोस्रो स्थानमा छन् । सचिनले १ सय शतक प्रहार गरेका थिए भने विराटले ८० शतक प्रहार गरेका थिए । विराटले एकदिवसीय क्रिकेटमा ५० शतक प्रहार गरेर सचिनको ४९ शतकलाई छायामा पारेको थियो ।

आईपीएलमा एउटै टोली

विश्वमै चर्चित फ्रान्चाइजी टी–२० प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा विराटले एउटै टोली रोयल च्यालेन्जर्स बैंगलोरबाटै खेलेका थिए । उनको कप्तानीमा रोयल च्यालेन्जर्सले उपाधि भने जित्न सकेन । सन् २००८ मा ३० हजार डलरमा अनुबन्धित भएका उनी सन् २०२४ सम्म आइपुग्दा २० लाख डलरमा अनुबन्धित भएका थिए ।