रोनाल्डो लुइस नजारियो डे लिमा

0
Shares

सन् १९९४ देखि २००२ सम्म १२ वर्षको अन्तरालमा ब्राजिलले लगातार तीनपटक विश्वकपको फाइनल खेलेको थियो । जसमध्ये दुईपटक ब्राजिल च्याम्पियनसमेत बन्यो । ब्राजिल तीनैपटक विश्वकपको फाइनल पुग्दा टिममा सम्मिलित एकजना चर्चित खेलाडी थिए रोनाल्डो ।

सन् १९९४ को विश्वकपका बेला बेन्चमै बिताएका उनले सन् २००२ को विश्वकपको उपाधि आफ्नो राष्ट्रलाई दिलाउन प्रमुख भूमिका निभाएका थिए । ब्राजिललाई पांचौंपटक विश्वकप दिलाउने क्रममा जर्मनीलाई २–० ले पराजित गर्दा दुवै गोल उनले गरेका थिए । त्यसअघि सन् १९९८ को फ्रान्समा सम्पन्न विश्वकपमा पनि ब्राजिललाई फाइनलसम्म पु¥याउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । उनी सम्मिलित ब्राजिल पालैपालो गरी चौथौ र पाँचौपटक विश्वकपको उपाधि जित्ने पहिलो टोली बनेको थियो । ब्राजिलमा सम्पन्न विश्वकपमा मिरोस्लाभ क्लोजले कीर्तिमानी १६ गोल गर्नुअघि सर्वाधिक १५ गोलको रेकर्ड रोनाल्डोकै नाममा रहेको थियो ।

स्ट्राइकरको भूमिकामा अब्बल रोनाल्डोले सन १९९३ मा क्रुजीएरो क्लबबाट करियरको सुरुवात गरेका थिए । १९९४ सम्म त्यही रहेका उनले पीएसभी आइन्डहोभेनबाट (१९९४–१९९६), बार्सिलोनाबाट (१९९६–९७), इन्टर मिलानबाट (१९९७–२००२), रियल मेड्रिडबाट (२००२–०७), एसी मिलानबाट (२००७–०८) र कोरिन्थियन्सबाट (२००९–११) सम्म खेलेका थिए । ब्राजिलको जर्सीमा ९८ म्याच खेलेका उनले ६२ गोल गरेका थिए । १९९४, १९९८, २००२, २००६ गरी चार विश्वकपका अनुभवी रोनाल्डोले १९ खेलमा १५ गोल गरेका छन् ।