सिमोन बाइल्सको ओलम्पिक्स यात्रा


एजेन्सी ।

अमेरिकन लिजेन्ड जिम्नास्ट सिमोन बाइल्सले पेरिस ओलम्पिक्समा सपना देखे भन्दा बढी उपलब्धि हासिल भएकोे बताएकी छन्। २७ वर्षीया सिमोनले पेरिसमा टिम, अलराउन्ड र भल्टमा स्वर्ण जितेका हुन्। तर, फ्लोरमा भने उनले रजत पदक जितेकी हुन्। यस इभेन्टमा ब्राजिलकी रेबेका एन्डे«डले जितेकी थिइन्।

विश्वका डेकोरेटेड जिम्नास्टमध्येकी एक जिम्नास्ट सिमोनले ११ ओलम्पिक्स पदक जितेकी छन् । उनले खचाखच पत्रकार भरिएको प्रेस मिटमा बताइन्—मेरो प्रदर्शनमा म निरास छैन, वास्तवमा खुशी छु, गर्व र अझ उत्साहित छु कि यो तनाव समाप्त भयो ।

अलटाइम लिस्टमा भेरासँग बराबरी
ओलम्पिक जिम्नास्टिकको महिलातर्फ अलटाइम लिस्टमा सिमोनले चेक खेलाडी भेरा कास्लाभस्कासँग बराबरी गरेकी छन् । दुबैले ११ ओलम्पिक्स पदक जितेका हुन् । तर, यो लिस्टको शीर्ष स्थानमा तत्कालीन सोभियत संघकी जिम्नास्ट लारिसा लातीनीना छन् । यूक्रेनमा जन्मेकी उनले सर्वाधिक १८ ओलम्पिक्स पदक जितेकी छन् । १९५६, १९६० र १९६४ को ओलम्पिक्समा खेलेकी लातीनीना सर्वाधिक स्वर्ण (९) जित्ने जिम्नास्ट पनि हुन् ।

सिमोनले रियो ओलम्पिक्स २०१६ मा डेब्यु गरेकी हुन् । उनले ब्राजिल ओलम्पिक्समा चार स्वर्ण जितिन् । २०२१ मा उनले जापानमा भएको टोकियो ओलम्पिक्समा खासै राम्रो गर्न सकिनन् । जापानमा उनले स्वर्ण जित्न सकेनन् । उनले खुलासा गरिन् कि त्यतिबेला उनी मेन्टल डिस्टर्बमा थिइन् । तर, ३ वर्षपछि पेरिसमा ३ स्वर्ण जितेर उनले उत्कृष्ट रहेकी साबित गरिन् ।

लस एन्जेलेसमा खेल्ला त ?
सिमोनले उनकै राष्ट्र अमेरिकामा २०२८ मा हुने ओलम्पिक्समा खेल्ने वा नखेल्नेमा डिसिजन लिएकी छैनन्। त्यतिबेला उनी ३१ वर्षकी हुनेछिन् । त्यसो त पेरिसमा उनलाई एजले कुनै बाधा तुल्याएन। उनले अलराउन्डमा स्वर्ण जित्दा ७२ वर्षको इतिहासमा उनी सबैभन्दा बढी एजकी च्याम्पियन बनेकी छन् । किनभने पछिल्ला १२ जना च्याम्पियनहरू टिनएजका हुन्।