लगानीकर्ता त्रर्सिदा एकै दिन २ खर्ब ३० अर्ब स्वाह


काठमाडौं ।

एक महिनाका अवधिमा साढे सात सय अंकले बढेको शेयर बजारमा मंगलबार अचानक उच्च अंकको गिरावट भएको छ । यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४५ दशमलव शून्य पाँच अंकले ओरालो लागेर २६५१ दशमलव ३२ बिन्दुमा सीमित भएको छ ।

 कुल ५ करोड ३८ लाख ४४ हजार ३७ कित्ता शेयर २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार रुपियाँ कारोबार भयो । घटेको  बजारमा कारोबार रकमले भने रेकर्ड कायम गरेको छ ।

मंगलबार एकैदिन २ खर्ब ३० अर्ब रुपियाँले शेयर बजारका लगानीकर्ताको सम्पत्ति घटेको छ । सोमबार नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण ४४ खर्ब ३८ अर्ब रुपियाँ रहेकोमा मंगलबार घटेर ४२ खर्ब ८ अर्ब रुपियाँमा सीमित भएको छ । नेप्से परिसूचक गत असार १७ गतेदेखि वृद्धि हुन थालेको थियो । नेप्से परिसूचक वृद्धि हुँदै गर्दा अत्यन्तै कमजोर वित्तीय सूचक भएका कम्पनीहरूको पनि शेयर मूल्य उच्च रहेको थियो ।

नेप्से परिसूचकमा भएको वृद्धिलाई लिएर संसद्मा पनि प्रश्न उठेको छ । सोमबार संसद्मा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले केही कम्पनीको शेयर मूल्य अस्वाभाविक बढेको भन्दै सचेत गराएका थिए । त्यस्तै शेयर बजारका सीमित व्यक्तिले कर्नरिङ भइरहेको र निश्चित कम्पनीको भाउ बढाउन चलखेल भइरहेकाले त्यसमा सरकारले छानविन गर्नुपर्ने आवाज सांसद डा. अमरेश कुमार सिंहले सोमबार प्रतिनिधि सभाको बैठकमा उठाएका थिए । संसद सिंहले प्रश्न उठाएपछि बजारमा बिक्री चाप हुँदा नेप्से परिसूचक उच्च अंकले घटेको विश्लेषकहरु बताउँछन् ।

त्यस्तै गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित हुने क्रम जारी रहेको र अस्वाभाविक रुपमा शेयर मूल्य बढेका कम्पनीको खराब वित्तीय विवरण आएपछि लगानीकर्ता तर्सिएका छन् ।

यस दिन कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । घटेको बजारमा थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । कुर्थली बुखरी स्मल हाइड्रोपावर नौ दशमलव ९७, लक्ष्मी भ्याल्यू फण्ड दोस्रो तीन दशमलव ९४, मेघा म्युचुअल फण्ड पहिलो तीन दशमलव ८१ र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले तीन दशमलव १६ प्रतिशतले कमाएका छन् । तर, नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या मार्ई हाइड्रोपावर, एनआरएन इन्फास्ट्रक्चर,शुभम पावर र हाथवे इन्भेष्टमेन्टलगायतका कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले घटेर नकारात्मक सर्किट लागेको छ । यसअघि यी कम्पनीको शेयर भाउ स्वाभाविक गतिमा बढेको थियो । मंगलबार यी कम्पनीको शेयर बिक्री गर्ने धेरै भए पनि किन्ने कोही भेटिएनन् । मंगलबार कुल २३३ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

 कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको एक अर्ब ३९ करोड ७८ लाख ८० हजार ३८३ बराबरको १६ लाख १६ हजार ४३१ कित्ता शेयर किनबेच भएको छ । बजारमा कारोबारमा आएका ३२२ मध्ये २७३ को मूल्य घट्नु र यस्तै, एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। ३० वटाको मात्र मूल्य बढ्नुले वित्त समूहको परिसूचक सर्वाधिक ८.२७ प्रतिशतले घटेको छ भने दोस्रोमा होटल्स तथा पर्यटन समूहको परिसूचक ८.०३ प्रतिशतले घटेको छ।