सत्तासँगै संगठन चुस्त बनाउने कांग्रेसको योजना

चारमहिने गाउँ अभियानको तयारी

940
Shares

काठमाडौं ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सत्ता सञ्चालनसँगै संगठन चुस्त बनाउने तयारीमा जुटेको छ। गत असार २१ मा संसद्को दोस्रो दल नेकपा (एमाले) लाई प्रधानमन्त्रीमा सहयोग गरेर सरकारमा ‘इन्ट्री’ भएको कांग्रेसले संगठनलाई चुस्त बनाउन चारमहिने गाउँ अभियान चलाउने तयारी गरेको हो।

सत्तामा प्रवेश गरेपछि संगठनमा ध्यान नदिने पुरानो परम्परालाई छाडेर सरकार संगठन निर्माणको अभियानलाई सँगसँगै लैजाने तयारीका विषयमा कांग्रेसले छलफल चलाएको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताउनुभयो । साउन २३ बाट हुने पार्टीको केन्द्रीय समिति बैठकबाट निर्णय गरेर गाउँ अभियानमा जुट्ने नेताहरूले बताएका छन् । केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा केन्द्रीय सदस्यलाई चार महिनासम्म जिल्लामा खटाउनेबारे छलफल भएको नेता विश्वकर्माले जानकारी दिनुभयो ।

‘कांग्रेसले सरकार सञ्चालनलाई व्यवस्थित गर्दै पार्टी संगठनलाई समेत चुस्त बनाउने तयारी गरेका छ । यसैको पूर्वतयारीस्वरूप केन्द्रीय समितिको बैठकअघि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेर नेताहरूले छलफल गर्नुभएको हो’, विश्वकर्माले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

पार्टीले एक केन्द्रीय सदस्यलाई कम्तीमा तीनदेखि चार महिनासम्म एउटा जिल्लामा खटाएर संगठन सुदृढीकरणको अभियान चलाउने तयारी गरेको उहाँको भनाइ छ । पछिल्लो समयमा पार्टीका गतिविधि सुस्त बनेपछि कांग्रेसमा संगठन अभियानलाई व्यापक बनाउनुपर्ने दबाब बढेको छ । पार्टीका भ्रातृ संगठनहरूसमेत लामो समयदेखि महाधिवेशन गर्न नसकेर तदर्थवादमै चलेका छन् । गत महासमितिको बैठकबाट आगामी २०८४ को निर्वाचनमा एक्लै लड्ने निर्णय गरेको कांग्रेसमा चुनाव जित्ने चुनौती पनि त्यत्तिकै छ ।

पार्टी महामन्त्री गगन थापाले कांग्रेसमा एक्लै निर्वाचन लडेर बहुमत आर्जन गर्ने शक्ति निर्माण गर्नुपर्ने बताउनुभएको छ । प्रत्येक गाउँमा पुगेर नागरिकको समस्या बुझ्ने र समाधानका उपायहरूसमेत खोज्नका लागि पार्टी तयार हुनुपर्ने थापाले बताउनुभयो । ‘हामीले आगामी निर्वाचन एक्लै भिड्ने भनेका छौं त्यसको तयारीका लागि पहिलो कुरा जनतासम्म पुग्नपर्छ भनेर तयारी गर्दै छौं’, उहाँले भन्नुभयो– ‘यसमा पार्टी क्रियाशील सदस्यता वृद्धि गर्ने, पार्टीप्रति वितृष्णा बोेकेर निस्क्रिय रहेका पुराना नेता तथा युवा कार्यकर्ताहरूलाई सक्रिय बनाउने कुरा र जनताका समस्याका विषयमा मिहिन ढंगले बुझेर समाधानका उपायसमेत दिने गरी कांग्रेसले अभियान चलाउँछ । त्यसमा भूगोलदेखि केन्द्रसम्मका नेता कार्यकर्तासहित आम जनतासमेतको सहभागिता हुन्छ ।’ गत महासमिति बैठकले गरेको निर्णयअनुसार आगामी कार्यक्रमहरू तय हुने उहाँको भनाइ छ ।

भदौदेखि अभियान शुरू गर्ने गरी केन्द्रीय समिति बैठकले आवश्यक निर्णय गर्ने गर्ने कांग्रेसले जनाएको छ । बैठकमा अलपत्र परेको महासमितिको निर्णयलाई टुंग्याउने विषयसमेत छलफलमा आउने छ । महासमितिका निर्णय पास गर्ने अधिकार केन्द्रीय समितिलाई दिइएको थियो । तर, प्राप्त सुझावलाई समेटेर महासमितिका निर्णय पास गर्ने भनिए पनि पटकपटक फेरिएका राजनीतिक समीकरणले महासमितिका बैठकका निर्णय अलपत्र परेको नेताहरूले दाबी गरेका छन् । कांग्रेसको गत फागुन ७ देखि १० गते गोदावरीमा सम्पन्न महासमिति बैठकले पार्टी एक्लै चुनाव लड्ने गरी संगठनको शक्ति निर्माण गर्नेलगायत महत्वपूर्ण निर्णय गरेको थियो । ती निर्णय कार्यन्वायनमा लैजाने जिम्मेवारीसमेत केन्द्रीय समितिको काँधमा छ ।