श्रीलङ्काले भारतलाई ३२ रनले हरायो


काठमाडौं ।

श्रीलङ्काले एकदिवसीय सिरिजको दोस्रो खेलमा भारतलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा श्रीलङ्काले भारतलाई ३२ रनले पराजित गरेको हो। श्रीलङ्काले दिएको २४१ रनको लक्ष्य पछाएको भारतले ४२.२ ओभरमा अल आउट हुँदै २०८ रन मात्र बनाएको थियो।

भारतको लागि कप्तान रोहित शर्माले सर्वाधिक ६४ रन बनाए भने अक्सर पटेलले ४४ र शुभमन गिलले ३५ रन बनाएका थिए। भारतलाई अल आउट गर्ने क्रममा श्रीलङ्काका बलर जेफ्री जेफ्री वान्डरसेले सर्वाधिक ६ र चरिथ असलंकाले ४ विकेट लिएका थिए। यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्रीलङ्काले ५० ओभरमा ९ विकेट गुमाउँदै २४० रन बनाएको थियो।

श्रीलङ्काका लागि आभिस्का फर्नान्डो र कमिन्दु मेन्डिसले ४०-४० रन बनाएका थिए भने दुनिथ वेल्लालागेले ३९, कुसल मेन्डिसले ३० र चरिथ असलंकाले २५ रन बनाएका थिए। त्यस्तै भारतका बलर वाशिंटन सुन्दरले ३ र कुलदीप यादवले २ विकेट लिएका थिए।

यो जितपछि ३ खेलको सिरिजमा श्रीलङ्का १-० ले अगाडी भएको छ। यस अघि खेलिएको सिरिजको पहिलो खेल टाइ भएको थियो। अब सिरिजको अन्तिम खेल बुधबार हुने छ।