ओलम्पिक्समा स्केटबोर्डिङ र स्पोर्ट क्लाइम्बिङ

नयाँ खेलमा युवाको आकर्षण

658
Shares

हरेक फिल्डमा जस्तै ओलम्पिक्समा पनि परिवर्तन आएको छ । तीन वर्षअघि टोकियो ओलम्पिक २०२० बाट शुरु भएको स्केटबोर्डिङ, स्पोर्ट क्लाइम्बिङ र ३×३ बास्केटबलले हाल जारी पेरिस ओलम्पिकमा पनि स्थान पाएको छ । यसले युवा पुस्ताको ध्यानाकार्षित गरेको छ ।

इन्टरनेसनल ओलम्पिक कमिटी (आईओसी) का प्रवक्ता मार्क एडाम्सका अनुसार स्केटबोर्डिङ, स्पोर्ट क्लाइम्बिङ र ३×३ बास्केटबलले युवाहरूलाई निकै आकर्षित गरेको छ । यस पटक पेरिसमा बे्रक डान्सिङ पहिलो पटक ओलम्पिकको हिस्सा बनेको छ ।

ओलम्पिकमा पराम्परागत खेलहरू मात्रै राखिंदा ओलम्पिक जेन एक्स भइरहेको देखिएको भन्दै एडाम्सले अहिले नयाँ खेलहरू राखेपछि भने यसले युवा फ्यानहरूको संख्या बढाउन सहयोग पुग्ने बताए । परम्परागत प्रोगामहरूले गर्दा जेन जी भ्युअर्सलाई टेलिभिजनले गुमाएको र टेलिभिजनले भन्दा टिकटक र यूट्युबले जेनजी भ्युअर्स बढाइरहेको टिप्पणी गर्दै उनले भने—‘हामीले योंगरहरूलाई एट्राक्ट गरेका छौं । यदि हामीले यस्तो गरेनौं भने हामी सिद्धिनेछौं । जेमा पनि चेन्ज आउनुपर्छ । जेन एक्समै फोकस हुनु भनेको योंग अडियन्सलाई भगाउनु हो ।’

आईओसी र ओलम्पिक अर्गनाइजर्सले ले पेरिस ओलम्पिकको अन्त्यमा नयाँ खेलले कस्तो प्रगति गरेको छ? यसका जेन्जी अडियन्स संख्यामा कति बृद्धि भएको छ भनेर हेर्ने र यसका लागि टीभी रेटिङ, टिकट सेल्स र डिजिटल तथा सोसल मिडियालाई आधार बनाइने बताएको छ ।

पेरिस ओलम्पिकमा स्केटबोर्डिङमा धेरै अडियन्स देखिएको अर्गनाइजर्सले दावी गरेका छन् । आइतबार ला कन्कोर्ड स्टेडियम ब्राजिलका खेलाडीले खेल्दा ब्राजिलियन फ्यानले भरिएको थियो । हजारौं ब्राजिलको राष्ट्रिय झण्डा फर्फराइरहेको थियो । ब्राजिली फ्यानहरू ‘रायसा रायसा रायसा’ भनेर कराइरहेका थिए ।

यस्तै, ३×३ बास्केटबलमा फ्रेन्च मेन्स र वोमेन्स टिमले खेलिरहँदा प्लेस डि ला कन्कोर्डमा फ्यानहरू कराइरहेको आवाज स्टेडियमभन्दा टाढा टाढा सुनिरहेको थियो । खेल भइरहेको एरियामा बालबालिकाहरू ब्रेकडान्स गरिरहेका थिए भने उनीहरूका अभिभावकहरू ह्विस्की पिउँदै टाढाबाट हेरिरहेका थिए ।

६ वर्षअघि चर्चा थिएन

स्केटबोर्डिङ स्पोर्टको ६ वर्षअघिसम्म खासै चर्चामा थिएन । यसलाई ओलम्पिकमा राख्नु हुँदैन भनेर आईओसीले समेत भनेको थियो । यसलाई खेल नै नमान्ने आईओसी अहिले यही जिल्ल परेको छ । अहिले पेरिसमा स्केटबोर्डिङ स्पोर्टमा देखिएको भीडले आईओसीलाई झक्झकाएको छ । आईओसीले लस एन्जेलसमा सन् २०२८ मा हुने ओलम्पिकका लागि जेनजीलाई फोकस गर्ने योजना समेत बनाइरहेको बताइएको छ ।