काभा महिला भलिबल: आज नेपालले इरानको सामना गर्दै


काठमाडौं ।

नेपालले काठमाडौंमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत आज इरानको सामना गर्दै छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार साँझ ५: १५ बजेदेखि यो खेल हुने छ।

जारी प्रतियोगितामा नेपालले २ खेलमा दुवै खेल जितेर ५ अङ्क हासिल गरेको छ भने इरानले ३ खेलमा २ जित र एक हारसहित ५ अङ्क नै हासिल गरेको छ। नेपालले शनिबार सम्पन्न यो खेलमा भारतमाथि ३-२ को सेटमा ऐतिहासिक जित हासिल गरेको थियो भने त्यसपछि पहिलो खेलमा श्रीलङ्कालाई ३-० ले पराजित गरेको थियो।

त्यस्तै पहिलो खेलमा भारतसँग पराजित भएको इरानले दोस्रो खेलमा श्रीलङ्कालाई ३-२ ले र तेस्रो खेलमा माल्दिभ्सलाई ३-० ले पराजित गरेको थियो। आजको खेलपछि नेपालले आफ्नो लिग चरणको अन्तिम खेल सोमबार ५: १५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ।

नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरानको सहभागिता रहेको यस प्रतियोगितामा लिग चरणका खेलपछि शीर्ष चार देशले सेमिफाइनल खेल्नेछन्।