मेसीको रोचक प्रेम प्रसंग

420
Shares

खेलको क्षेत्रमा नामुद भएपनि कतिपय त्यस्ता खेलाडीको नीजि जीवनको बारेमा खेलप्रेमीहरु अनभिज्ञ नै हुने गरेका छन् । त्यसमध्येका एक विश्वविख्यात खेलाडीको नाम हुन् फुटबलका सर्वकालीन महान खेलाडी लिओनेल मेसी ।

मेसी र उनकी पत्नी एन्टोनेला रोकुज्जोबीचको प्रेम प्रसङ्ग ज्यादै रोचक छ । किनभने मेसीले आफ्नो अर्धाङ्गिनी रोकुज्जोलाई पाँच वर्षको कलिलो उमेरमा नै भेटेका थिए । यी दुवै बाल्यकालदेखिका राम्रा साथीहरु हुन । यी दुवै अर्जेन्टिनाको रोसारियोमा बस्ने गर्थे । मेसी रोसारियोको स्थानीय क्लबबाट फुटबल खेल्ने गर्थे । त्यसबेलासम्म यी दुवैजना एक अर्कासंग राम्ररी परिचित भइसकेका थिए ।

तर, ११ वर्षको उमेरमा नै मेसी बार्सिलोनाको फुटबल एकेडमीमा आबद्ध भएपछि दुवैजना टाढिएका थिए । तर, जोडी भगवानले नै बनाएर पठाउँछ भने झैं यी दुवैको पुनः भेट सन २००५ मा भयो । यसरी भेट हुनुको पछाडि एउटा दुर्घटना थियो । रोकुज्जोको सबैभन्दा प्रिय मित्र उर्सुला नोट्जको सवारी दुर्घटनामा मृत्यु भएको थियो । जसबाट रोकुज्जो निक्कै विक्षिप्त थिइन । यो कुरा स्पेनमा रहेका मेसीको कानमा पनि पर्‍यो । त्यसपछि बार्सिलोनाबाट अर्जेन्टिना पुगेर मेसीले रोकुज्जोलाई सान्त्वना दिए । उनले रोकुज्जोलाई उक्त शोकबाट सामान्य जीवनमा फर्कन सघाए ।

त्यसपछि यी दुवैको भेटघाट बाक्लियो । यो क्रमले निरन्तरता पाउन थाल्यो । अनि यो सिलसिला प्रेमसम्बन्धमा परिणत हुन समय लागेन । सन २००९ मा यी दुवैले प्रेमसम्बन्धमा रहेको सार्वजनिक गरे । त्यसपछि सन २०१२ मा यी जोडीले पहिलो सन्तान थियागो लाई जन्म दिए ।

त्यसको तीन वर्षपछि २०१५ मा यी जोडीबाट दोस्रो सन्तानको रुपमा माटियो को जन्म भयो । त्यसको दुई वर्षपछि मात्र अर्थात २०१७ को जून ३० मा आफ्नो गृहसहर रोसारियोको एउटा क्यासिनोमा यी जोडी विवाह बन्धनमा बाँधिए । उक्त विवाहलाई ‘वेडिंग अफ द सेन्चुरी’ समेत भनिएको छ । उक्त विवाह समारोहमा विश्व फुटबल जगतका चर्चित हस्तीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । त्यसको एकवर्षपछि भने तेस्रो सन्तानका रुपमा सिरो को जन्म भयो ।

विश्व फुटबलमा एकपछि अर्को सफलता हासिल गरेका मेसीको जीवन संगिनी पनि मोडलिङ्ग क्षेत्रमा राम्रो दख्खल भएकी महिला हुन् । मानविकी र सामाजिक विज्ञानमा स्नातक सकेकी रोकुज्जोले डेन्टिस्ट विषयको पोस्ट ग्राजुएट पढेकी थिइन् । तर, उनी डेन्टिस्ट भने बनिनन । मेसीसँगको सम्बन्धपछि रोकुज्जोले मोडेलिङ्मा हात हालिन ।

रोकुज्जोले डिजाइनर रिकी सार्कनी जस्ता मोडलहरुसँग काम गरिन । रोकुज्जोले एडिडास र स्टेला म्याकार्टनी लगायत धेरै फिटनेस ब्रान्ड र कम्पनीहरूसँग पनि काम गरेकी छन् । सरसर्ती हेर्दा पाँच वर्षको उमेरदेखि रोकुज्जोप्रतिको विश्व च्याम्पियन टिमको कप्तान मेसीकोे मायालाई एउटा नमूना प्रेमप्रसंगको रुपमा मान्न सकिन्छ ।