पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु


झापा ।

झापाको हल्दिबारीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। बिहीबार राति हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो।

जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार मोटरसाइकल चालक हल्दिबारी गाउँपालिका–५ का ३१ वर्षीय प्रेम प्रसाईँ र सुनसरीको बराक्षेत्र नगरपालिका–१० प्रकाशपुरका डिकेस कार्कीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई बिर्तामोडस्थित बीएण्डसी अस्पातालमा पुर्‍याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। पिकअप भ्यान र त्यसका चालक भद्रपुर नगरपालिका–२ का ३७ वर्षीय दिपेन राईलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको छ।