टार्जनको रूपमा चम्केका ओलम्पियन जोनी


हलिउडमा टार्जनको रूपमा आफ्नो परिचय स्थापित गरेका जोनी बेइसमुलर अमेरिकी सफल ओलम्पियन स्विमिङ खेलाडी र उत्कृष्ट पौडीबाजको रूपमा चिनिन्छन् । १९०४ मा हंगेरीमा जन्मेका जोनी २० औं शताब्दीका बेस्ट खेलाडीसमेत थिए । उनले ओलम्पिकमा पाँचवटा गोल्ड मेडल जितेर कीर्तिमान रचेका थिए।

आठ कक्षासम्म पढेपछि स्विमिङमा सिफ्ट भएका जोनीको प्रतिभा देखेर बिल बाकराकले उनलाई प्रशिक्षण दिएका थिए । यहीबाट उनको स्विमिङ करिअर शुरू भएको हो । सन् १९८४ मा ७९ वर्षको उमेरमा उनको निधन भएको थियो । उनको अन्तिम यात्राको व्यवस्थापन अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगन र सिनेटर टेड केनेडीले मिलाएका थिए । उनको अन्तिम यात्रामा राष्ट्रिय सम्मानस्वरूप २१ तोपको सलामी दिइनुका साथै टार्जनजस्तो कराउने स्वर तीनपटक बजाइएको थियो ।

जोनीका केही महत्वपूर्ण उपलब्धि :

उनले चार एमेच्योर एथ्लेटिक युनियन रेसमा भाग लिए र सबैमा जित हासिल गरे । उनले पहिलो दुईमा वल्र्ड रेकर्ड पनि राखे । सन् १९२२ मा १०० मिटर फ्री स्टाइलमा ५८ दशमलव ६ सेकेन्डमा पूरा गर्दै डुक कहानामोकुको विश्व कीर्तिमान तोडे ।

    -सन् १९२४ मा पेरिसमा उनले १०० र ४०० मिटर फ्री स्टाइल तथा २०० मिटर रिलेमा गोल्ड मेडल जितेका थिए । पेरिसमै उनले वाटरपोलोमा ब्रन्ज मेडल जितेका थिए ।

    -सन् १९२४ को समर ओलम्पिकमा सोही १०० मिटर फ्री स्टाइलमा कहानामोकुलाई हराएर गोल्ड मेडल जिते । उनले अमेरिकाका लागि इन्डिभिजुएल ४०० मिटर फ्री स्टाइल र २०० मिटर फ्री स्टाइल रिलेमा गोल्ड जिते ।

    -सन् १९२७ मा उनले १०० मिटर फ्री स्टाइलमा ५१ सेकेन्डको नयाँ वल्र्ड रेकर्ड राखे । यो रेकर्ड १७ वर्षसम्म टिक्यो ।
    -सन् १९२८ मा एम्सटर्डममा भएको समर ओलम्पिकको १०० मिटर फ्री स्टाइल र २०० मिटर फ्री स्टाइल रिलेमा गोल्ड जितेका थिए । तर, वाटरपोलोमा भने अमेरिकी टोली सातौं स्थानमा रह्यो । यसअघिको ओलम्पिकमा उनको टोली तेस्रो भएको थियो ।

    -अमेरिकाको नेसनल च्याम्पियनसिप मध्येमा उनले ५२ वटामा जित हासिल गरे भने ६७ वटा वल्र्ड रेकर्ड रचेका थिए । उनी १ मिनेटभित्र १०० मिटरको दूरी पूरा गर्ने विश्वकै पहिलो स्विमिङ खेलाडी थिए । ४४० दूरी पाँच मिनेटभित्र सकाउनेमा पनि उनी पहिलो स्विमिङ खेलाडी थिए । उनी एमेच्योरमा कहिल्यै हारेनन् ।

    -सन् १९५० मा उनलाई २० औं शताब्दीका ‘ग्रेटेस्ट स्वीमर अफ दी हाफ सेन्चुरी’ भनेर सम्मान गरिएको थियो । खेलबाट रिटायर्ड भए उनले सन् १९३२ देखि १९४८ सम्म १२ वटा फिल्ममा टार्जनको भूमिका निभाए ।

    -सन् १९३२ मा उनले ‘टार्जन द एपे म्यान’ मा पहिलोपटक टार्जनको भूमिकामा खेलेका थिए । उनले ‘जंगल जिम’ को भूमिकामा आठ वर्षमा १६ वटा फिलिम खेले । २६ एपीसोडको ‘द जंगल जिम’ टीभी सिरिजमा पनि उनी देखा परे । सन् १९५७ मा उनले फिल्मबाट पनि सन्यास लिए ।

    -सन् १९२७ मा शिकागो म्याराथन टे«निङमा डुंगा दुर्घटना हुँदा ११ व्यक्तिलाई डुब्नबाट बचाए । त्यही वर्ष अर्को डुंगा दुर्घटनामा उनले १६ बच्चा, १० महिला र १ पुरुषलाई डुब्नबाट बचाए । उक्त डुंगामा महिला र बालबच्चा गरी ७५ र ११ पुरुष डुबेका थिए । तीमध्ये ५० जनाभन्दा बढीको ज्यान बचाइएको थियो ।

    -एकपटक साथीहरूसँग गल्फ खेलिरहेकैबेला जोनीलाई फिडेल क्यास्ट्रोका सेनाले घेरा हालेर किडनाप गरेका थिए । त्यहीबेला उनी टार्जनझै गर्जेपछि कास्ट्रोका सेनाले तुरुन्तै टार्जन भनेर चिने र खुशी हुँदै ताली बजाए । त्यसपछि उनलाई सुरक्षित स्थानमा पु¥याइएको थियो ।