शेयर बजारमा रेकर्ड नै रेकर्ड, नयाँ सरकार आएपछि लगानीकर्ताले ११ खर्ब कमाए

714
Shares

काठमाडौं ।

शेयर बजारमा हालसम्मकै उच्च कारोबार भएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २१ अर्ब ९१ करोड १५ लाख रुपियाँबराबरको कारोबार हालसम्मकै उच्च हो । यसअघि २०७८ साउन ३१ गते नेप्सेमा २१ अर्ब ६४ करोड रुपियाँको शेयर कारोबार भएको थियो ।

बुधबार नेप्से परिसूचक ६४ दशमलव २५ अंकले बढेर २७६० दशमलव ९० विन्दुमा पुगेसँगै नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण ४३ खर्ब ८० अर्ब ७७ करोड रुपियाँभन्दा बढी भएको छ । शेयर बजारमा आएको पछिल्लो वृद्धिले एक महिनामा ११ खर्ब रुपियाँभन्दा बढीले लगानीकर्ताको सम्पत्ति वृद्धि भएको छ । गत असार १७ गते बजार पुँजीकरण ३२ खर्ब ५६ अर्ब रुपियाँ थियो । मंगलबार ४२ खर्ब ७८ अर्ब ७९ करोड ७७ लाख रुपियाँ थियो ।

मंगलबारको तुलनामा बुधबार १ खर्ब १ अर्ब रुपियाँभन्दा बढीले बजार पुँजीकरण बढेको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को तुलनामा शेयर बजार पुँजीकरण ८० प्रतिशतभन्दा माथि पुगेको छ । अहिले ५७ खर्ब रुपियाँको हाराहारीमा जीडीपी रहेको छ ।

त्यस्तै एक महिनाकै अवधिमा नेप्से ३५ दशमलव ५३ प्रतिशतले वृद्धि भएको छ । एक महिनाको अवधिमा वृद्धिको तथ्यांकले पनि नयाँ रेकर्ड कायम गरेको छ । १२ वर्ष अघि एक महिनामा ३५ दशमलव ४१ प्रतिशतले वृद्धि भएको थियो ।

बुधबार बजार वृद्धि भएँगै एक दर्जन कम्पनीको शेयर कारोबार सकारात्मक सर्किट मूल्यमाकारोबार भएको छ । यस दिन युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्रीइन्भेष्टमेन्ट एण्ड फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया, कुथेली बुखरी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी र प्रोग्रेसिभ फाइनान्सलगायतका कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

ओरियन्टल होटल, समृद्धि फाइनान्स, मल्टिपर्पस फाइनान्स, फस्ट माइक्रोफाइनान्स, गुहेश्वरी मर्चेन्ट, पोखरा फाइनान्स, महालक्ष्मी विकास बैंक, बेष्ट फाइनान्स, नेपाल फाइनान्स, एचआईडिसीएल र सिंगटी हाइड्रोपावरको पनि उच्च अंकले शेयर मूल्य बढेको छ ।

नेप्सेका १३ समूहमध्ये यसदिन १३ वटै समूहको परिसूचक बढेको छ । जसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक ८.०८ प्रतिशत बढेको छ । त्यसबाहेक बैंकिङ १, विकास बैंक ३.२, होटल तथा पर्यटन २.९, हाइड्रोपावर २.१, लगानी ६.८, जीवन बीमा २.१, उत्पादन १.८, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.८७, अन्य ३.९ तथा ब्यापार समूह २.७ प्रतिशत बढे । होटल तथा पर्यटन समूहको सूचक पनि हालसम्मकै उच्च भएको छ । बुधबार १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ वटाको घटेको छ । यस्तै ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

यस दिन सिभिल बैंक डिबेञ्चर २०८८ का लगानीकर्ताले सर्वाधिक ७.९२ प्रतिशतले गुमाएका छन् । त्यस्तै आत्मनिर्भर लघुवित्तको शेयरमूल्य पनि ६.५२ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८४ करोड ४९ लाखको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन माउन्टेन इनर्जीको ४१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको ४० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।