शक्ति क्षीण गराउने ‘इनर्जी ड्रिङ्क’

0
Shares

नेपाली बजारमा थुप्रै किसिमका इनर्जी ड्रिङ्क पाइन्छन् । तपाईँ कुनचाहिँ पिउनुहुन्छ ? खेल्नुअगाडि, पढ्नुअगाडि, जीम जानु अगाडि वा साथीहरूका अगाडि आफूलाई ‘एक्स्ट्रा’ देखाउन आजकालका किशोरकिशोरी इनर्जी ड्रिङ्क पिउन र साथीहरूसँग शेयर गर्न खुब मन पराउँछन् ।

कुनैबेला किशोरकिशोरी साथीहरूका अगाडि चुरोट तानेर फुर्रर धुवाँ उडाउनुलाई सान र इज्जतको विषय ठान्थे भने आज खुलेर चुरोट तान्ने प्रवृत्तिमा परिवर्तन आएको छ । बरु यसको ठाउँमा इनर्जी ड्रिङ्कले लिएको देखिन्छ । किन कि किशोरकिशोरीले धेरै मन पराउने खेलकुद कार्यक्रम, नेपाल आइडललगायत लोकप्रिय कार्यक्रमको प्रायोजन यस्ता इनर्जी ड्रिङ्कले गर्न थालेका छन्, जुन कुनैबेला चुरोट र रक्सीले गर्दै आएका थिए ।

केही समयअघि सम्पन्न नेपाल आइडलको एउटा प्रमुख प्रायोजकमा रेडबुलनामक इनर्जी ड्रिङ्क नै थियो । यसले हप्तैपिच्छे ‘इनर्जेटिक पर्फर्मर अफ द विक’ भनेर नगद पुरस्कार पनि दिने गरेको थियो । त्यस्तै, अन्तर्राष्ट्रियरूपमा भएका विभिन्न फुटबल गेम कसले जित्छ भनेर भविष्यवाणी गर्न लगाउँदै विजयीलाई पुरस्कार दिने भनेर सामाजिक सञ्जालमार्फत् एक किसिमको प्रतिस्पर्धा नै गराइरहेको थियो । त्यसैकारण किशोरकिशोरी यस्ता इनर्जी ड्रिङ्कप्रति आकर्षित हुन्छन् र खुलेर पिउन मन पराउँछन् । पारिवारिक, सामाजिक र कानुनीरूपमा पनि यस्ता इनर्जी ड्रिङ्क पिउन कुनै रोकावट नभएकाले पनि उनीहरू निर्धक्करूपमा यस्ता इनर्जी ड्रिङ्क घटघट पिउँछन् । एक अध्ययनअनुसार इनर्जी ड्रिङ्कका करिब ६५ प्रतिशत उपभोक्ता १३ देखि ३५ वर्ष उमेर समूहका छन् । तर, के यस्ता इनर्जी ड्रिङ्क स्वास्थ्यका लागि लाभदायक छन् त ?

जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेती भन्नुहुन्छ, ‘इनर्जी ड्रिङ्क भनेको मुख्यतः क्याफिन, चिनी, कृत्रिम रंग, फिज ल्याउने तत्व, अम्लीयपना कायम राख्ने तत्व आदि राखेर बनाइएको हुन्छ । यसमा क्याफिन र चिनीको मात्रा अत्यधिक हुने भएकाले खाएको केही समयसम्म ऊर्जा दिएजस्तो अनुभव भए पनि यसले मोटोपना वृद्धि गर्ने, मधुमेह हुने सम्भावना बढ्ने, अनिन्द्राको समस्या ल्याउने र जलवियोजन अर्थात् डिहाइड्रेसनको समस्या ल्याउने हुन्छ । क्याफिन र चिनीको मात्राका कारण यसको उपभोग गर्दा केही क्षण हल्का उत्तेजना र मुड परिवर्तनको महसुस गराए पनि यो पेयपदार्थ उत्पादकले दाबी गरेजस्तो शक्तिबद्र्धक कदापि हुँदैन ।’

खेलाडीहरूले खेल्नुअगाडि यस्ता कथित शक्तिबद्र्धक पेयपदार्थ पिएमा डिहाइड्रेसन भएर खेलाडी बेहोस हुने गरेको खेल चिकित्सकले बताउने गरेका छन् । उनीहरूका अनुसार बजारमा पाइने अधिकांश सस्ता इनर्जी ड्रिङ्क स्पोर्टस् इनर्जी ड्रिङ्क होइनन् । इनर्जी ड्रिङ्कहरूको आकर्षक विज्ञापनले विशेषगरी युवा, खेलाडी तथा केटाकेटीहरूमा इनर्जी ड्रिङ्क भनेको शक्ति वृद्धि गर्न तथा सफलताका लागि अतिआवश्यक पेयवस्तु हो भन्ने भ्रम उत्पन्न गरिरहेको छ । तर, यी वस्तु विज्ञापनमा भनेजस्तो शक्ति वृद्धि गर्ने र सफलता दिने कुनै पनि तत्व हुँदैनन् । बरु अनिन्द्रा, जलवियोजनलगायत विभिन्न स्वास्थ्य समस्या उत्पन्न गरी शरीरमा भएको शक्तिसमेत क्षीण गराउँछन् । त्यसकारण यस्ता पेयपदार्थको उपभोग नगर्नु नै उचित हुन्छ ।

नेपाली बजारमा हाल रेडबुल, रेडब्लु, एक्स्ट्रिम, मुस्ताङ, स्पिड, किबु, स्टिङ, इभिल, बाउलगायत दर्जनौं ब्रान्डका इनर्जी ड्रिङ्क बिक्री भइरहेका छन् । यिनलाई शक्तिबद्र्ध पेयपदार्थका रूपमा आक्रामकरूपमा प्रचारप्रसार गर्ने गरिएको छ । प्रायः यी इनर्जी ड्रिङ्कको मूल्य एक सय रुपियाँभन्दा बढी हुने गरेको पाइन्छ ।

युनिभर्सिटी अफ टेक्सासको मेडिकल स्कुलले क्याफिन तथा अल्कोहललगायत अन्य रसायन मिसाइएका इनर्जी ड्रिङ्कले मुटुको चालमा वृद्धि गर्ने, रक्तचाप वृद्धि गर्ने, मानसिक तनाव बढाउने कुरा अध्ययनपछि सार्वजनिक गरेको छ । कतिपयलाई क्याफिनका कारण शरीरमा डाबर आउने, चिलाउने, स्वास फेर्न गाह्रो हुने, निन्द्रा नआउने, छाति भारी हुने, जीब्रो, ओठलगायत अनुहार सुन्निने, डायरिया हुने, बान्ता आउनेजस्ता एलर्जीका समस्या पनि हुने अध्ययनकर्ताले बताएका छन्।

अल्कोहलको मात्रा भएका इनर्जी ड्रिङ्कहरू वालवालिकालाई सेवन गर्न दिदा यस्ता बस्तुको कुलत बस्दै जान्छ र मदिरा सेवन गर्ने लत लाग्छ । मदिराले बालवालिकाको कलेजो, मिर्गौला, मुटु, मस्तिष्कलगायत शरीरका सम्पूर्ण अंगमा असर गर्छ । वालवालिकाको उमेर जति कम भयो उति असर बढी हुन्छ । त्यसकारण वालवालिकालाई यस्ता वस्तु सेवन नगराउनु नै राम्रो हो।