संक्रमणकालीन न्यायसम्बन्धी संयन्त्रको बैठक सम्पन्न


काठमाडौं।

सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सकिएको छ। सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठक आगामी बिहीबार बस्ने गरी सकिएको हो।

आजको छलफलमा संयन्त्रका सदस्य नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा सहभागी थिए। 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी, महान्याधिवक्ता रमेश बडाल लगायतको पनि सहभागिता थियो । बैठकपछि बर्तौलाले आगामी बिहीबार फेरि बैठक बस्ने गरी आजको बैठक सकिएको बताए।

उनले भने, ” मूल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा भएको छ। त्यसलाई एकीकृत गरेर उठेका प्रश्नहरूलाई पनि एकीकृत गर्ने कुरा भएको छ। सबै तयारी गरेर आगामी बिहीबार ८ बजे गृह मन्त्रालयमै बैठक बस्छौँ।”  अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि आगामी दिनमा छलफल केन्द्रित गर्ने उनको भनाइ छ। 

यसअघि पनि शुक्रबार गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि सहमतिको जुटाउने विषयमा छलफल भएको थियो ।