अमेरिकाको सात सहरमा नेपथ्य

14
Shares

काठमाडौं ।

नेपालीपनमा रमाउने संसारभरिका श्रोता दर्शकहरुलाई लोकरकका माध्यमबाट जोड्दै आएको अग्रणी ब्याण्ड नेपथ्यले आगामी महिना अमेरिकाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ ।

नेपथ्य छैठौं पटक उसका गीत सुनाउनका लागि अमेरिका जान लागेको हो । ब्याण्डले यसपालाको यात्रामा अमेरिकाको पूर्वी किनारादेखि पश्चिमी किनारासम्म सातवटा फरक फरक सहरका भब्य मञ्चहरुमा आफूलाई प्रस्तुत गर्नेछ ।

सङ्गीत यात्राका निम्ति आगामी साता अमेरिका प्रस्थान गर्न लागेको टोलीले अगस्त ३ तारिखका दिन कोलोराडोको राजधानी डेनभर सहरमा आफुलाई उभ्याउने छ ।

अग्ला पर्वत, नदी र जंगलहरुले घेरिएको भूपरिवेष्ठित राज्यका रुपमा चिनिने कोलोराडोमा उल्लेख्य संख्यामा नेपालीहरुको बसोबास छ । यस स्थानमा नेपथ्यले पहिलोपटक साँगीतिक पाइला टेक्न लागेको हो । डेनभरको छेवैमा पर्ने बोल्डरस्थित ऐतिहासिक महत्वको ‘बोल्डर थिएटर’मा नेपथ्यले यो वर्षको अमेरिका यात्राकै पहिलो कोशेली प्रस्तुत गर्नेछ ।

त्यसपछिको दोश्रो प्रस्तुती अमेरिकाको पश्चिमी तटकै समृद्ध सहर सानफ्रान्सिस्कोस्थित ‘वारफिल्ड थिएटर’मा अगस्त १० तारिखका दिन आयोजना हुनेछ । क्यालिफोर्निया राज्यको यसै सहरस्थित यसै हलमा आठ वर्षअघि पनि नेपथ्यले आफूलाई उभ्याइसकेको छ ।

तेश्रो प्रस्तुतीको निम्ति भने ब्याण्ड ओहायो राज्यको राजधानी कोलम्बसतर्फ प्रस्थान गर्नेछ । त्यहाँस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा ब्याण्डले अगस्त १७ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ । यो सहर नेपथ्यका लागि पहिलो अनुभव हुनेछ ।

त्यसपछिको चौथो कन्सर्टका लागि ब्याण्ड फेरि अमेरिकाको दक्षिणवर्ती भेगतिर फर्केर टेक्सास राज्य आइपुग्नेछ । उक्त राज्यको सबैभन्दा घना आवादी भएको सहर डालासमा ६ वर्षपछि नेपथ्य फेरि प्रस्तुत हुनलागेको हो । यसपालि ब्याण्डले ‘टोयोटा म्यूजिक फ्याक्ट्री’ मा आफुलाई उभ्याउँदैछ । विशाल एवं भब्य यो आयोजनास्थलमा टेक्सासका नेपाली दर्शकहरुलाइ अगस्त २४ तारिखका दिन फेरि पहिलेजस्तै रमाइलो साँझ प्रदान गर्ने अठोट ब्याण्डले लिएको छ ।

त्यसपछि भने ब्याण्ड फेरि उत्तरतर्फ उक्लँदै अमेरिकामा सबैभन्दा बढी प्रस्तुत भएको सहर न्युयोर्कमा पुग्नेछ । अघिल्लापटक जस्तै न्यूयोर्कको म्यानहटनमै प्रस्तुत हुने नेपथ्यले यसपाला भने बेग्लै हल ‘टर्मिनल फाइभ’ मा आफ्ना लोकरक धुनहरु पस्कने छ । त्यहाँ अगस्त ३० तारिख नेपथ्य साँझ आयोजना हुनेछ ।

न्यूयोर्कमा प्रस्तुत भइसकेपछि ब्याण्ड फेरि थोरै दक्षिणतर्फ बढेर मेरिल्याण्ड राज्य पुग्नेछ । त्यहाँ सेप्टेम्बर १ तारिखका दिन ब्याण्डले लाइभ क्यासिनो होटल मेरिल्याण्ड स्थित ‘द हल एट लाइभ१’ को प्रेक्षालयमा आफुलाई प्रस्तुत गर्नेछ ।

यसरी अमेरिकाका फरक फरक सहरहरुमा आफुलाई उभ्याइसकेपछि अन्तिम कन्सर्टका निम्ति नेपथ्य पेन्सिलभानियाको ह्यारिसवर्ग सहर पुग्नेछ । ब्याण्डको लागि यो सहर पनि पहिलो अनुभव बन्ने भएको छ । यसै सहरको ‘द फोरम अडिटोरियम’ मा अमेरिकाको श्रृंखलावद्ध यात्राकै अन्तिम अर्थात् सातौं कन्सर्ट सेप्टेम्बर ७ तारिखका दिन आयोजना हुनेछ । झण्डै सय वर्षअघि यो हल सिम्फोनी अर्केष्ट्रा प्रस्तुत गर्ने उद्देश्यका साथ तयार पारिएको थियो ।

नेपथ्यले सन् २००४ मा फिनिक्स र वासिङटन डिसिमा आफुलाई प्रस्तुत गर्ने उद्देश्यका साथ पहिलोपटक अमेरिका यात्रा गरेको थियो । त्यसपछिका वर्षहरुमा ब्याण्डले न्यूयोर्क, सानफ्रान्सिस्को, लस एन्जलस, एटलान्टा, डालास र बोस्टनमा साँगीतिक प्रस्तुती दिइसकेको छ ।

गत वर्ष मात्रै छेवैको क्यानाडामा श्रृंखलावद्ध साँगीतिक यात्रा गरेको ब्याण्डले अमेरिकामा भने कोभिड महामारीपछि यो पहिलो यात्रा गर्नलागेको हो । यसपालाको अमेरिका यात्राको संयोजन ‘डिजे मोमो इन्टरटेनमेन्ट’ले गरिरहेको छ ।

कलाकार, प्राविधिक र ब्यवस्थापन सम्मिलित नेपथ्य टोली अमेरिका यात्राको अन्तिम तयारीमा जुटेको छ । अमेरिकाका सबै कन्सर्टमा दर्शकहरुले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रवन्ध मिलाइएको छ ।