जंक फुड खाने लत बसेको छ भने आजै त्याग्नुस्


आजभोलि जंक फुड खाने चलन ह्वात्तै बढेको छ । साना बालबालिकादेखि पाका व्यक्ति पनि कुनै न कुनै रूपमा जंक फुडमै रमाइरहेका भेटिन्छन् । तपाईंमा पनि जंक फुड खाने लत बसेको छ भने त्यस्तो लत त्याग्नु तपाईंमा स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

जंक फुड भनेको शरीरलाई अतिआवश्यक पर्ने प्रोटिन, भिटामिन खनिजजस्ता अतिआवश्यक पदार्थ नभएको वा अतिकम भएको, तर चिनी, चिल्लोपदार्थजस्ता क्यालोरीयुक्त तत्व र नुनको मात्रा अत्यधिक भएको खाद्यवस्तु हो । अंग्रेजी भाषामा जंक भनेको, काम नलाग्ने, बेकारको भन्ने अर्थ लाग्छ । त्यसैले नेपालीमा यसलाई ‘पत्रु खाना’ भन्ने गरिन्छ ।

खासगरी फाइबरको मात्रा कम भएका, क्यालोरी बढी भएका, चिल्लो बढी भएका तथा गुलियो बढी भएका, तेलमा डुबाएर तारिएका र स्वाद वृद्धिमा बढी ध्यान दिएर पकाइएका खाना जंक फुड हुन् । यी खाद्यवस्तुले स्वास्थ्यलाई फाइदा गर्दैनन् । शरीरलाई मोटो बनाउने, डायबिटिज, रक्तचाप, कोलेस्टेरोल बढाउनेजस्ता समस्या जंक फुडले उत्पन्न गर्न सक्छन् । पत्रु खानामा रेशादार पदार्थ नै नहुने हुनाले यसले कब्जियत गराउनुका साथै अन्य थुप्रै समस्या गराउँछ । कब्जियतको समस्या भएपछि टाउको दुख्नेलगायत विभिन्न समस्या हुन्छन् ।

रङ्गिन बट्टा, सिसी, पाकेट वा प्लास्टिकमा बन्द गरेर बजारमा बेचिने जंक फुड खाने गर्नाले बालबालिकाको दाँतमा नराम्रो असर पुग्छ । चिसो पेयपदार्थमा पाइने चिनीले दाँतको इनामेललाई नस्ट गर्छन् र बाल्यकालमा नै दाँतमा किरा लाग्ने र प्वाल पर्ने हुन्छ । यस्तो खानामा पोषक तत्व हुँदैन,तर क्यालोरी बढी मात्रामा हुने भएकाले बालबालिका सानै उमेरदेखि मोटाउन थाल्छन् । चाउचाउ, चिजबल, केक, कुकिज, आइसक्रिम पाउरोटी, डोनोट, चक्लेट, मिठाइ, चिसो पेयपदार्थ, आलु चिप्स आदि बालबालिकाको स्वास्थ्यका लागि लाभदायक छैनन् ।

जंक फुडमा चिल्लो पदार्थको मात्रा धेरै हुने मात्र होइन, यसमा सस्ता खालको खराब चिल्लोको प्रयोग गरिएको हुन्छ । धेरै नुन र खराब चिल्लोको मात्रा भएको खाना बारम्बार खाने गर्नाले कलिलो उमेरमै उच्च रक्तचाप देखापर्ने, कोलस्ट्रोल बढ्ने र भविष्यमा हृदयघात, मस्तिष्कघातको समस्या हुने हुन्छ ।

जंक फुडलाई लामो समय सुरक्षित राख्न र स्वाद बढाउनका लागि विभिन्न किसिमका रसायनको प्रयोग गरिएको हुन्छ । जुन स्वास्थ्यका लागि लाभदायक हुँदैनन्। यस्ता जंक फुड थोरै खर्चमा तयार गरिने भए पनि यसको प्याकेजिङ र यसको प्रचारप्रसारमा धेरै खर्च गरिने भएकाले खानाको महत्वको आधारमा धेरै महंगा हुन्छन् । यसको साटो घरमा बनाइएका ताजा र पोषिला खाना खानुनै उपयुक्त हुन्छ । जंक फुड विद्यालय परिषरमा बेच्न पनि प्रतिबन्ध लगाउनुपर्छ ।