मदन भण्डारीको रहस्यमय मृत्यु

हत्या कि दुर्घटना ?

0
Shares

काठमाडौं ।

चर्चित राजनीतिज्ञ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीको मृत्यु भएको ३१ वर्ष भयो । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । तर, उहाँको नियोजित हत्या वा भवितव्यमा मृत्यु भन्ने अझै खुलेको छैन ।

रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएको छानबिनले कुनै तथ्य निकाल्न सकेको छैन । दुर्घटनाका एकमात्र साक्षी तथा भण्डारी र आशि्रत चढेको जिपका चालक अमर लामाको समेत हत्या भएपछि यो घटना झनै रहस्यमय बन्न पुगेको छ ।
पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा जाँदै गर्दा उक्त घटना भएको थियो । समय समयमा एमाले नेताहरूले यस घटनालाई हत्याको दाबी गर्दै आफ्नो भाषणको माहोल तताउने माध्यम बनाउँदै आएका छन् ।

तर, एमालेकै पार्टी अध्यक्ष केपी शर्मा ओली चारपटक प्रधानमन्त्री भइसकेका छन् भने २०५१ यता एमालको नेतृत्वमा कयौंपटक सरकार बनिसकेको छ र एमालेले गृह मन्त्रालय पनि सम्हालिसकेको छ, त्यति मात्रै होइन, भण्डारीकी पत्नी स्वयं विद्यादेवी भण्डारीले दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हालिसकेको भए तापनि उक्त दुर्घटना भवितव्य हो कि षड्यन्त्र हो भन्ने विषयमा छानबिनमा खासै प्रतिबद्धता देखाएको देखिँदैन ।

तत्कालीन सरकारले उक्त दुर्घटनाको छानबिन गर्न प्रचण्डराज अनिलको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो । तर, उक्त आयोगले दुर्घटनाको कारण पहिल्याउन सकेन । एमालेले पनि तत्कालीन समयमा नेता केपी शर्मा ओलीको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो भने पछि पद्मरत्न तुलाधरको अध्यक्षतामा समेत छानबिन आयोग गठन गरिएको थियो । यी सबै छानबिन आयोग र समितिले कुनै ठोस निष्कर्ष निकाल्न सकेनन् । अझै पनि राजनीतिक लाभका लागि यो घटनालाई एमालेले बेलाबेलामा उछाल्ने गरेको छ तर वास्तविकता पत्ता लगाउने सन्दर्भमा भने एमाले आफैंले उदासीनता देखाएको छ ।