ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका ३४ विद्यार्थी चीनमा ग्र्याजुएट

210
Shares

बुटवल। 

लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीहरु चीनमा ग्र्याजुएट भएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालय र नानहाई बौद्ध एकेडेमी चीनबीच दुई जोड दुई  (टुप्लस टु) सम्झौता अन्तर्गत विश्वविद्यालयका ३४ जना विद्यार्थी नानहाई अध्ययनका लागि पुगेका थिए । स्नातक तहमा ट्राभल एन्ड टुरिजम विषय अध्ययन गरिरहेका विद्यार्थीहरुमध्ये पहिलो पटक ३४ जना विद्यार्थी चीन पुगेका हुन् । उनीहरुले अध्ययन सकेको अवसरमा नानहाईले ग्र्याजुएसन समारोह आयोजना गरेको थियो । 
चार वर्षे कोर्ष अन्तर्गत पहिलो चरणमा तीन वर्ष लुम्बिनीमा अध्ययन गरेका विद्यार्थीहरु एक वर्ष अध्ययनका लागि चीनको नानहाई एकेडेमीमा पुगेका हुन् । 

केन्द्रीय क्याम्पस लुम्बिनी र सिटी क्याम्पस बुटवलका विद्यार्थीहरुले दुई सेमेष्टरको कक्षा सकेका छन् । उनीहरुको ग्र्याजुएट समारोहमा नानहाईका अध्यक्ष मास्टर इनसुन, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य, रजिस्ट्रार डा. तिलकराम आचार्यसहितको सहभागिता रहेको थियो । नानहाई एकेडेमीमा हरेक वर्ष ४० जना विद्यार्थी अध्ययन गर्न जानेछन्। 

विश्वविद्यालयले एकेडेमीसँग दुई जोड दुई  (टुप्लस टु) सम्झौता गरेसँगै ट्राभल एन्ड टुरिजम विषयमा अध्ययनरत विद्यार्थीहरुले दुई वर्ष लुम्बिनी र दुई वर्ष चीनमा अध्ययन गर्ने विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक डा. कुमार खड्काले जानकारी दिए । 

चीनमा अध्ययन सकेका विद्यार्थीहरुले लुम्बिनी बौद्धबाट अन्तिम प्रमाणपत्र प्राप्त गर्दैछन् । अध्ययन सकेका अधिकांश विद्यार्थीहरुले रोजगारीका लागि  अवसर पाइसकेको खड्काले बताए ।

 कतिपय विद्यार्थीहरुले चीनमै स्नातकोत्तर अध्ययन गर्ने पूर्णछात्रवृत्ति प्राप्त गरेका छन् । विश्वविद्यालयले चालु शैक्षिक सत्रमा पनि बुटवल सिटी क्याम्पसमा स्नातक तहमा ट्राभल एन्ड टुरिजम विषयमा भर्ना खोलेको छ । दुई जोड दुई (टुप्लस टु) अन्तर्गत बुटवलमा दुई वर्ष कक्षा सकेपछि थप दुई वर्ष अध्ययन गर्न चीन जानेछन् । अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्ययन गर्दा विद्यार्थीको क्षमतामा वृद्धि देखिएको जनाइएको छ । विश्वविद्यालयले कानून तर्फ बीएएलएलबी र भाषातर्फ बिसिटीओएलमा पनि भर्ना खुलाएको छ । बिसिटीओएल पढ्न चाहाने विद्यार्थीहरुका लागि चन्दादाताबाट पूर्ण छात्रवृत्ति व्यवस्था गरिएको जनाइएको छ ।