‘निर्दलीय’ मेयर बालेन दलसँग झुके: २८ बुँदे संशोधन प्रस्ताव कार्यान्वयन

मेयरले हिजो संशोधन गर्नुभयो, अब कुनै समस्या छैन : प्रवक्ता मानन्धर



काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अन्ततः दलसँग झुकेर २८ बुँदे संशोधन प्रस्ताव कार्यान्वयन गर्नुभएको छ। उहाँले मंगलबार सम्पन्न १५औं नगरसभाको पाँचौं बैठकबाट २८ बुँदे संशोधन प्रस्ताव कार्यान्वयन गर्नुभएको हो।

कार्यपालिकाको सदस्यको तर्फबाट नेपाली कांग्रेसबाट प्रवक्तासमेत रहनुभएका वडा नं १७ का अध्यक्ष नवीन मानन्धर, एमालेका ३२ नम्बर अध्यक्ष नवराज पराजुली र एकीकृत समाजवादीको तर्फबाट १५ नम्बरका अध्यक्ष ईश्वरमान डंगोलले १ सय ६० जना कार्यपालिकका सदस्यको सहमति लिएर २८ बुँदे संशोधन प्रस्ताव तयार गर्नुभएको थियो ।

चौथो बैठक इन्कार गरेका मेयर साहले मंगलबार सम्पन्न पाँचौं बैठकमा संशोधन प्रस्ताव स्वीकार गर्नुभएको थियो । कार्यपालिका सदस्य एवं प्रवक्ता मानन्धरले हिजो बुधबार मेयर साहले कार्यपालिकाले तयार गरेको २८ बुँदे संशोधन प्रस्ताव कार्यान्वयन गर्ने बताउनुभएको थियो । तर, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले केही बुँदामा मात्र संशोधन भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘संशोधन गरिरहेका छौं, केही दिनमा जानकारी होला।’ उहाँले प्रवक्ताले दिएको विषयमा समेत प्रस्ट जानकारी दिनुभएन ।

यसअघि मेयर साहले नेपाली कांग्रेस, एमाले र एकीकृत समाजवादीले अघि सारेको संशोधन प्रस्तावलाई ठाडै अस्वीकार गर्दै दलमाथि कडा आलोचना गर्नुभएको थियो । उहाँले पार्टीको नामबाट जोडिएका नेताको नाममा बजेट व्यवस्थापन गर्न नसक्ने समेत चेतावनी दिनुभएको थियो । ‘अन्ततः मेयर साहले दलको प्रस्ताव स्वीकार गर्नुभएको छ, निर्दलीय मेयर साह दलसँग झुक्नुभएको छ’ –कामपा २२ का अध्यक्ष चिनीकाजी महर्जनले भन्नुभयो ।

कामभन्दा आलोचनामा बढी समय खर्चिने गरेका साहले दलको दबाबमा संशोधन बुँदा राखेर बजेट पारित गर्नुभएको थियो । अब ६२ बुँदे नीति तथा कार्यक्रममा संशोधन भएका २८ बुँदासहित ६२ बुँदे कार्यक्रम पारित भएको छ । असार १४ गतेबाट स्थगित बैठक असार २५ गते सम्पन्न भएको थियो ।

यसअघि १४ गते सोसल मिडिया एक्समा ‘एमाले र कांग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गरौं भन्नुभयो । मैले स्वतन्त्र चार सहिदको नाममा गरौं भनेँ, सायद कांग्रेस एमालेले नेपालको क्रान्तिमा उहाँभन्दा कांग्रेस र एमालेको नेताहरूको योगदान देख्नुभयो होला । त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो’ भनी लेख्नुभएको थियो । बैठक स्थगित भएपछि कामपाको बजेट सार्वजनिक भएर पनि पास हुन सकेको थिएन ।

मेयर साहले जेठ ३२ गते सार्वजनिक गर्नुभएको प्रस्तावित नीति तथा कार्यक्रममा उल्लेख भएकामध्ये ३० प्रतिशत जनशक्ति महानगरको श्रम बैंकमार्फत् आपूर्ति गरिने विषयमा स्थानीयलाई ५० प्रतिशत राख्नुपर्ने, छात्रवृत्तिको व्यवस्था वडाबाटै हुनुपर्ने, पढ्दै कमाउँदै विषयमा महानगरवासीलाई ५० प्रतिशत दिनुपर्ने विषयमा संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ । ती प्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रस्तावहरू पारित भएको छ ।

न्युरोडलाई ‘नो भेइकल जोन’ बनाउने विषयमा संशोधन गर्नुपर्ने, टुकुचा खोला खोजेर दुर्गन्धित बनाउनेभन्दा पनि अन्य नदीलाई स्वच्छ पार्न बुँदा संशोधन गर्नुपर्ने उल्लेख छ। फोहोरमैला निःशुल्क संकलन गर्ने व्यवस्था गर्नुुपर्ने, एकीकृत अनुगमन प्रणालीको विकास गनुपर्ने, खुला मञ्चलाई सार्वजनिक कार्यक्रम गर्न पाउने व्यवस्था गर्नुपर्ने, सामाजिक विकास तथा खेलकुद कार्यक्रममा सर्वमान्य नेता गणेशमान सिंह, राजनेता पुष्पलाललगायत बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, मंगलादेवी सिंह, मदन भण्डारी, मनमोहन अधिकारी र साहना प्रधानको नाम समावेश गर्नुपर्नेलगायत बुँदामा संशोधन प्रस्ताव दर्ता गराएका थिए। मेयर साहले ती नेताको नाममा महानगरको सामाजिक विकास विभागको बजेटबाट व्यवस्था गर्ने सहमति भएको छ ।

छात्रवृत्ति दिइने प्रावधान एकद्वार प्रणालीमार्फत् वितरण गरिने भन्ने वाक्यमा सम्बन्धित वडा समितिको सिफारिसमा हुनुपर्ने उल्लेख गर्नुपर्ने, पढ्दै कमाउँदै अवधारणामा कुनकुन तहमा अध्ययनरत् विद्यार्थी वा उमेर समूहका लागि हो प्रस्ट गर्नुपर्र्ने, ज्येष्ठ नागरिकलाई निवासमै सेवा उपलब्ध गराउने व्यवस्थामा अशक्त र अपाङ्गलाई पनि समावेश गर्ने र ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र असक्त तथा बिरामीहरूका लागि राष्ट्रिय परिचयपत्रको अनिवार्य व्यवस्था गरिने छैन भनी उल्लेख गर्नुपर्ने विषय समावेश छ ।

न्युरोडको फुटपाथ ठूलो गर्ने विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्ड अध्ययन गरी कार्यान्वयन गर्ने उल्लेख छ। कतिपयले मेयर साहले बजेट पास भइसकेको अवस्थामा संशोधन नगर्ने अडानमा रहेको बताएका थिए। तर, दलको अघि केही नलागेपछि संशोधन गर्न मेयर साह बाध्य हुनुभएको थियो। ‘संशोधनसहित बजेट पारित भइसकेको छ, अब ढुक्कले कार्यान्वयन हुनेछ’ –प्रवक्ता मानन्धरले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

जेठ ३२ गते शुरू भएको बैठक असार २५ गते सकिएको थियो। बैठकले आर्थिक वर्ष २०८१÷०८२ को नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक सर्वसम्मत पारित गरेको छ। मेयर साहले बैठकमा पहिलो प्रस्तावका रूपमा यसअघिको बैठकमा नगरसभा सदस्यबाट प्राप्त सुझाव तथा संशोधन प्रस्तावलाई सम्भव भएसम्म समेट्ने गरी पारित गर्न प्रस्ताव पेस गर्नुभएको थियो । सोही आधारमा आजबाट महानगरको बजेट, नीति तथा कार्यक्रममा कुनै विवाद छैन ।

यसअघि असार १५ गते बसेको सभाको तेस्रो बैठकमा उपप्रमुख सुनिता डंगोलले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपियाँको वार्षिक बजेट पेस गर्नुभएको थियो। बैठकमा उपप्रमुख डंगोलले बजेट तथा कार्यक्रमसहित आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ पेस गर्नुभएको थियो।

बजेटअनुसार सञ्चित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार रुपियाँ र जग्गा एकीकरण आयोजनाबाट आम्दानी हुने १ अर्ब ५० करोड रुपियाँको आय आम्दानीबाट प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्