अविरल वर्षाले कञ्चनपुरका अधिकांश बस्ती डुबानमा, १६ सय २२ जनालाई सुरक्षित स्थानमा सारियो



कञ्चनपुर ।

लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको अधिकांश बस्ती डुबानमा परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भू–भागलाई प्रभावित बनाएको छ।

महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका–१० को तीन बस्ती डुबानमा परेका छन्। जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका छन्।

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जिल्लाभर बाढीबाट प्रभावित एक हजार छ सय २२ जना को उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए।

“बाढीले जिल्लाका अधिकांश बस्ती डुबानमा परेका छन्” उनले भने, “डुबानबाट प्रभावितलाई नजिकै विद्यालय र आफन्तकोमा सारिएको छ।” त्यसैगरी उनले बाढीमा परी कृष्णपुर नगरपालिकाको वडा–१ पोतीपुरमा सात महिनाका शिशु सोलु धानुकको मृत्यु भएको बताए।

प्रवक्ता जोशीले भने , “घरमा सुतेको अवस्थामा बाढी पसेपछि डुबेर शिशुको मृत्यु भएको छ।” निरन्तर वर्षा भइरहेका कारण अझै केही परिवार विस्थापित हुने अवस्थामा पुगेका जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्