१५ करोड ७५ लाखको ४ केजी कोकिनसहित ४ विदेशी पक्राउ



काठमाडौं ।

दक्षिण अमेरिकाका विभिन्न मुलुकबाट नेपाल हुँदै भारत पुर्‍याउन ल्याइएको १५ करोड ७५ लाख बराबरको ४ केजी अवैध लागुऔषध कोकिनसहित ४ जना बिदेशी नागरिक नेपालमा समातिएका छन्।

बोलिभियन नागरिक लौरा क्रुज टिकोनको साथबाट नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले २ केजी १ सय ग्राम लागुऔषध कोकिन बरामद गरेको थियो। लौराको साथबाट कोकिन बरामद गरेपछि प्रहरीले अन्य विदेशी नागरिक प्रहरीको नियन्त्रणमा आएका थिए।

फ्लाई दुबईको उडानबाट नेपाल आएका तान्जानियाका नागरिक डोनाल्ड ज्याक्सन मावुगाको साथबाट १ केजी २ सय ६ ग्राम कोकिन बरामद गरेको थियो। उनले उक्त कोकिन १८ वटा क्याप्सुल बनाएर खाएर नेपाल आएका थिए। उनले उक्त क्याप्सुल इथियोपियाको राजधानी अदिस अवावा पुगेर ल्याएका थिए।

प्रहरीले उनी बसेको ठमेलको होटलबाट १८ वटा क्याप्सुल फेला पारेपछि उनले आफसँग अरू पनि क्याप्सुल पेटमा भएको बताएपछि प्रहरीले महाराजगञ्जस्थित अस्पताल पुर्‍याएर निकालेको थियो।

डोनाल्ड अदिस अवावाबाट दुबई हुँदै काठमाडांै आएको र उक्त सामान लिन भारतीय नागरिक नेपाल आउने र उक्त सामान ती भारतीय नागरिकलाई दिनु भन्ने लागुऔषध तस्करहरूको आग्रहबमोजिम उनी नेपाल आएका थिए।

त्यस्तै, कतार एअरको उडानबाट नेपाल आएका भेनेजुलियन नागरिक साइमन एन्टोनियो अल्फोन्जो राडलाई पनि प्रहरीले १ केजी १ सय ९८ ग्राम कोकिनसहित पक्राउ गरेको थियो। प्रहरीले तीन वटै समूहको नाइके एउटै भएको पनि पत्ता लगाएको छ। साइमनले पनि उक्त कोकिन क्याप्सुल बनाएर खाएर आएका थिए। उनले उक्त क्यासुल ब्राजिलको सापाउलोबाट निलेर पेटभित्र लुकाइ छिपाइ ल्याएको पनि प्रहरीले जानकारी दिएको छ।

पछिल्लो समय लागुऔषधका तस्करहरूले लागू औषधको तस्करी गर्ने तरिकामा परिर्वतन गरेको देखिन्छ लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो। तीनै जना ती विदेशी नागरिक फरक फरक मितिमा काठमाडौं आइपुगेको र उक्त सामान लिन आएकी भारतीय नागरिक लालारु आतसाङगीलाई प्रहरीले सामान डेलिभरी लिइरहेको अवस्थामा पक्राउ गरेको थियो।

भारतको मिजरोम बस्दै आएकी आतसाङगीलाई उक्त लागुऔषध भारतको राजधानी नयाँदिल्लीसम्म पुर्‍याउने जिम्मेवारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्