प्रतिनिधिसभाको बैठक बस्दै, सांसदका प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने



काठमाडौं ।

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर कार्यक्रमको कार्यसूची रहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन लागेका हुन् । यसै गरी, आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ।

त्यस्तै आज उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, कृषि तथा पशुपक्षी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत मन्त्रीहरूले जवाफ दिनेछन्।

यस्तै, सञ्चार तथा सूचना प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बजेटमा उठेका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस्