सर्लाहीमा रोकिराखेको लरीमा बस ठोक्किँदा तीन जनाको मृत्यु



सर्लाही ।

सर्लाहीको वाग्मती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। केही व्यक्ति घाइते छन्।

पूर्वपश्चिम राजमार्गस्थित वाग्मती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीवाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षीय दशरथ कोहार र ५० वर्षीय रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनालगत्तै उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमुना अस्पताल पुर्‍याएकामा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए।

रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो। बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा केही व्यक्ति गम्भीर घाइते भएका छन्। जनकपुर, वीरगन्ज र स्थानीय अस्पतालमा उनीहरूको उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्