विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण चर्चा, के होला पूर्वराष्ट्रपतिको सुविधा ?



काठमाडौं ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पुरानो पार्टी सदस्यता ब्युँताउने विषय सदनमा प्रवेश गरेको छ। उहाँ नेकपा एमालेको उपाध्यक्ष छाडेर सात वर्ष राष्ट्रपति हुनुभएको थियो।

एक वर्षअघि उक्त जिम्मेवारीबाट बाहिरिँदै पूर्वराष्ट्रपतिको हैसियतमा राज्यको सेवा लिँदै आएकी भण्डारीको पार्टीको सदस्यता नवीकरणको विषयलाई सांसदहरूले राजनीतिक मुद्दा बनाउन थालेका हुन्।

भण्डारीको पार्टी सदस्यता नवीकरणको चर्चा चलेसँगै राज्यबाट पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त हुने सेवासुविधाका विषयमा सरकारले नियमन गर्नुपर्ने सांसदहरूले कुरा उठाएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले पार्टीको सदस्यता नवीकरण गरेको अवस्थामा पूर्वराष्ट्रपतिको हैसियतमा राज्यले सेवा\सुविधा दिने कि नदिने भन्ने विषयमा सरकारले जवाफ दिनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘पूर्वराष्ट्रपतिको एउटा पार्टीको सदस्यता नवीकरणको कुरा आयो। सदस्यता नवीकरण गर्ने हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन ? राज्यले त्यसबारे के सोचेको छ ? सरकारले त्यसको जवाफ दिनुपर्छ।’ पूर्वराष्ट्रपतिका विषयमा संविधानमा उल्लेखित व्यवस्था र व्यावहारिक रूपमा भइरहेको गतिविधिका विषयमा सरकारले संसद्मा जवाफ दिनुपर्ने उहाँको भनाइ छ।

गत वैशाख १ गते नयाँ वर्षको अवसर पारेर संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले भण्डारीको सदस्यता नवीकरण गरेको एमाले स्रोतले बताएको छ । भण्डारीको पार्टी सदस्यता नवीकरणबारे संगठन विभाग प्रमुख अधिकारीले आफू बाहिर गएको बेला पार्टी सदस्यता नवीकरण भएको हुन सक्ने बताए पनि यसको आधिकारिक पुष्टि भएको छैन। एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईले भण्डारीले पार्टीको सदस्यता नवीकरण गरिनसके पनि सदस्यता नवीकरण गर्ने बताउनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कम्युनिस्ट पार्टीको सदस्यता भनेको एउटा गौरव पनि हो। त्यसैले उहाँले जीवनको उत्तरार्धमा पार्टीको सदस्यता नवीकरण गर्ने विषय सामान्य हो। मेरो विचारमा उहाँको पार्टी सदस्यता नवीकरण भइनहालेको भए पनि नवीकरण हुन्छ।’ २०७२ असोजदेखि २०७९ फागुनसम्म राष्ट्रको सर्वोच्च पदमा रहेकी भण्डारीले पूर्ववत् पार्टीमा सक्रिय हुने लक्ष्यका साथ पार्टी सदस्यता नवीकरणको चर्चा चलेको एमालेका नेताहरूको भनाइ छ।

भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्काउन एमालेकै केही नेताहरू लागिपरेका छन्। गत जेठ १६ गते एमालेले आयोजना गरेको ‘राष्ट्रिय महिला भेलाको उद्घाटन भण्डारीले नै गर्नुभएको थियो। सो भेलाको उद्घाटन गर्दा अध्यक्ष केपी ओली अतिथिका रूपमा उपस्थित हुनुभएको र कार्यक्रमको उद्घाटन भण्डारीले नै गर्नुभएको अखिल नेपाल महिला संघका नेताहरूले बताएका छन्।

राष्ट्रपति पदमा समेत उहाँले आफू पूर्ववत् अवस्थामा आबद्ध रहेको एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार काम गरेको टिप्पणीहरू भइरहेका छन्। भण्डारीको पार्टी सदस्यता नवीकरणपश्चात उहाँले पाउने पूर्व राष्ट्रपतिको सुविधा राज्यले रोक्नुपर्ने विज्ञहरूको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्