भरतले पेरिस पारालिम्पिक खेल्ने



काठमाडौं ।

पारा तेक्वान्दो खेलाडी भरतसिंह महता फ्रान्समा हुने पेरिस पारालिम्पिक–२०२४ मा खेल्न छनोट हुनुभएको छ। भरत वाइल्ड कार्ड कोटामार्फत् पेरिस पारालिम्पिकका लागि छनोट हुनुभएको नेपाल तेक्वान्दो संघले जनाएको छ। संघको अनुसार विश्व तेक्वान्दोले मंगलबार पत्र पठाई भरतको सहभागिता निश्चित भएको जानकारी गराएको थियो ।

योसँगै पेरिस पारालिम्पिकमा नेपालबाट तेक्वान्दोमा सहभागी हुने खेलाडीको संख्या २ पुगेको छ। पलेशा गोवर्धन यसअघि नै छनोट हुनुभएको थियो । पलेशाले छनोट चरण पार गर्दै पेरिस पारालिम्पिकका लागि छनोट हुनुभएको हो।

चीनमा भएको एसियाली छनोटको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि स्वर्ण जित्दै पलेशाले पेरिस यात्रा पक्का गर्नुभएको थियो। चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा छनोट चरण पार गरेर पारालिम्पिकमा खेल्ने पहिलो नेपाली खेलाडी बन्नुभएको हो।

भरतले पेरिस पारालिम्पिकमा के–४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ। पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाका अनुसार यो तौलसमूहमा जम्मा १२ खेलाडी रहनेमा भरत छनोट हुने अन्तिम खेलाडी हुनुहुन्छ। वरीयताका आधारमा ६ खेलाडी तथा बाँकी ५ खेलाडीले छनोट चरण पार गरी सहभागिता सुनिश्चित गरिसकेका थिए।

दार्चुला अपिहिल गाउँपालिका–८ का २७ वर्षीय भरत विगत १८ महिनादेखि राष्ट्रिय टिममा रहेर प्रशिक्षण गर्दै आइरहनुभएको छ। भरतसँग हालसम्म २ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । उहाँले चीनमा गत चैत २ देखि ४ गतेसम्म पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोट तथा भियतनामको दनाङमा जेठ ६ गते भएको नवौं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउनुभएको थियो।

एसियाली छनोटको पहिलो खेलमा इन्डोनेसियाका खेलाडीलाई हराएर सेमिफाइनल पुगेका भरत सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग पराजित हुनुभएको थियो । उक्त प्रदर्शनपछि भरत विश्व वरीयताको ८१ औं स्थानमा उक्लिनुभयो। त्यसअघि उहाँ वरीयताविहीन हुनुहुन्थ्यो।

भियतनाममा पनि भरतले पहिलो खेलमा काजकिस्तानका खेलाडीलाई हराए पनि दोस्रो खेलमा अजरबैजानका खेलाडीसँग पराजित हुनुभयो । भियतनाममा प्रदर्शनपछि उहाँ विश्व वरीयताको ५८औं स्थानमा उक्लिनुभएको प्रशिक्षक लामाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्