गृहसचिवको निमन्त्रणामा चिनियाँ टोली काठमाडौंमा

विपद् व्यवस्थापनसम्बन्धी सम्झौता कार्यान्वयनमा जोड



 काठमाडौं ।

काठमाडौंको भ्रमणमा रहनुभएका सिचुवान प्रान्तका उपगभर्नर एवं सोही प्रान्तका सार्वजनिक सुरक्षा विभागका आयुक्त ये हान्बिङले गृहमन्त्री रवि लामिछानेसँग बुधबार शिष्टाचार भेट गर्नुभएको छ।

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालको मैत्रीपूर्ण निमन्त्रणामा उपगभर्नर ये पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार काठमाडौं आउनुभएको हो। सिंहदरबारमा भएको शिष्टाचार भेटमा नेपाल र चीनबीच विपद् व्यवस्थापनसम्बन्धी सम्झौताको कार्यान्वयनका साथै नेपाली सुरक्षा निकायलाई चीनले दिँदै आएको सहयोग र सीमा नाका व्यवस्थापन सम्बन्धमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ।

गृहले प्रेस विज्ञप्ति जारी गर्दै भेटमा दुई देशबीचको सदियौं पुरानो मैत्री सम्बन्धलाई अझै विस्तार गर्दै सुरक्षा, विपद व्यवस्थापन र पूर्वाधार निर्माणका विषयमा आपसी सहयोग आदानप्रदान गर्नेबारे सहमति भएको जनाएको छ।

विज्ञप्तिमा गृहमन्त्री लामिछानेले भेटमा नेपालको पूर्वाधार विकासमा चिनियाँ कम्पनीहरूले पु¥याएको योगदानप्रति आभार व्यक्त गर्दै चीन जान चाहने नेपालीलाई प्रवेशाज्ञा निःशुल्क गरेको र व्यापारिक सीमा नाकाहरू खुलाएकोमा खुशी व्यक्त गर्नुभएको उल्लेख छ।

शिष्टाचार भेटपछि ये नेतृत्वको चिनियाँ प्रतिनिधि मण्डल र गृहसचिव अर्याल नेतृत्वको प्रतिनिधि मण्डलबीच द्विपक्षीय वार्ता भएको थियो। वार्तामा सचिव अर्यालले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच भएको विपद जोखिम न्यूनीकरण र आपतकालीन उद्धारसम्बन्धी समझदारीको कार्यान्वयनमा जोड दिनुभएको थियो। उहाँले नेपाली सुरक्षा निकायहरूको आधुनिकीकरण र क्षमता अभिवृद्धिमा चीनको सहयोगलाई निरन्तरता दिन आग्रहसमेत गर्नुभयो।

द्विपक्षीय वार्तामा उपगभर्नर येले अन्तर्राष्ट्रिय कानुनअनुसार सीमा क्षेत्र नियन्त्रण र व्यवस्थापन, अन्तरसीमा अपराधविरुद्धको लडाइँका साथै नेपालमा चिनियाँ लगानी र सीमा क्षेत्रमा हुने वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रणमा सहकार्य भइरहेको जिकिर गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्