‘नो भेइकल जोन’को विरोध गर्दै न्युरोडवासी सडकमा



 –वडाअध्यक्ष र अभियन्ता भन्छन् : विनाआधार असम्भव
–कामपाको आरोप : न्युरोडमा केही दिनदेखि बिरुवा उखेले, बार भत्काए

काठमाडौं ।

काठमाडौं महानगरले न्युरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउन लागेको विरोधमा बुधबार प्रदर्शन भएको छ। स्थानीय तथा व्यापारीहरूले महानगरको योजनाको विरोधमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा कामपा वडा नं २२ र २३ को समेत समर्थन रहेको छ।

गएको जेठ ३२ गते सम्पन्न कामपाको नगर सभाको बैठकको नीति तथा कार्यक्रमको ३८ नम्बर बुँदामा न्युरोड क्षेत्रलाई नो भेइकल जोन प्रस्ताव गरेको छ । सो प्रस्तावको विरोधमा स्थानीय र न्युरोडका व्यवसायीले शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

मेयर बालेन्द्र साहको सो प्रस्तावको एमाले, नेपाली कांग्रेस र एकीकृत समाजवादीका वडाअध्यक्षले संशोधन गर्न माग गरिसकेका छन् । तर, आफ्नै लहडमा लागेका मेयर बालेन्द्र साहले त्यसको विरोध गर्नुभएको छ । स्थानीय सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले बिनाआधार प्राचीन व्यवसाय मासिने गरी गरेको निर्णय मान्य नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘न्युरोडलाई नो भेइकल जोन बनाउन स्थानीयसँग सल्लाह गर्नुपर्छ, प्राचीन व्यवसायीसँग छलफल गरेर मात्र निर्णय गर्नुपर्छ । त्यहाँको व्यवसाय के हुने भन्ने कुराको विश्लेषण नगरी गरेको निर्णय मान्य हुँदैन ।’ उहाँले मेयरको हचुवाको निर्णय मान्नैपर्छ भन्ने बाध्य नभएको बताउनुभयो ।

कामपाको नीति तथा कार्यक्रमको ३८औं बुँदामा विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ र स्वयम्भु महाचैत्यलाई कामपाको मातहतमा सञ्चालन र व्यवस्थापन गर्नका लागि आवश्यक समन्वय र कानुनी प्रबन्ध गरिने तथा सूचीकृत सम्पदाक्षेत्रलगायत नयाँ सडक हाँडीगाउँजस्ता प्राचीन पुरातात्विक र विशेष महत्वका क्षेत्रलाई नो भेइकल जोनका रूपमा विकास गरिने उल्लेख छ।

सोही बुँदामा आपत्ति जनाउँदै कोरक्षेत्रका वासिन्दाले बुधबार शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। प्रदर्शनमा न्युरोड गाडी गुडाउनका लागि बनाइएको हो, प्राचीन व्यावसायिक थलो मास्न पाइँदैन, भेइकल फ्रि न्युरोड षड्यन्त्र हो, हामी मान्दैनौं, कसैको पेटमा लात हान्ने कार्य नगरौं, भित्री सहर गाडीबिनाको जीवन सम्भव छ ?, आफू चिल्ला गाडी चढ्ने, नो भेइकल भन्ने ? लगायतका प्ले कार्ड बोकेका स्थानीय र व्यवसायीले शान्तिपूर्ण प्रदर्शन गरेका थिए।

काठमाडौं महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना हालै आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको थियो । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको थियो ।

कामपा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनले मेयरको एकलौटी निर्णयबाट न्युरोडलगायत प्राचीन क्षेत्र फ्रि भेइकल जोन हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो– ‘नीति तथा कार्यक्रममा समावेश भएको यो बुँदा खारेज गराउँछौं मान्दै मान्दैनौं ।’

महानगरले सवारी निषेधित क्षेत्र बनाउने योजनाअन्तर्गत नै पहिलो चरणमा नयाँ सडकको पार्किङ हटाइएको थियो । पार्किङ हटाएलगत्तै फुटपाथ ठूलो बनाउन थालेको थियो । सडक विभाग र वडा कार्यालयको विरोधपछि फुटपाथ बिस्तार रोकिएको छ । ‘फेरि फ्रि भेइकल जोनको नाममा न्युरोडवासीलाई पलायन गर्न खोजिँदैछ’ –सम्पदा अभियन्ता श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो। वडाअध्यक्ष महर्जनले मेयरको यो योजना सफल हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हचुवाको भरमा गरेको निर्णय कार्यान्वयन हुनै सक्दैन।’

उता, स्थानीयले न्युरोड क्षेत्रमा रोपिएका झण्डै २ सय विरुवा उखेलेको र २५ वटा बार हटाएको महानगरले आरोप लगाएको छ। कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले वडाकै सल्लाहमा विरुवा र बार हटाएको आरोप लगाउनुभयो। प्रहरीको चेतावनीपछि बार हटाउन रोकिएको छ।

कामपाको नीति र कार्यक्रमको विषयमा १० गते तेस्रो चरणको छलफल हुँदै छ। छलफलमा झण्डै डेढ दर्जन असहमतिको बुँदाको बारेमा छलफल हुनेछ। निर्दलीय मेयर साहले दलको धङधङी बोकेर नगरसभामा नआउन चेतावनी दिएपछि आक्रोशित जनप्रतिनिधिले मेयरसँगको सम्बन्ध टाढिएको जनाउ दिइसकेका छन्।

नीति र कार्यक्रम पारित भएपछि मात्रै बजेट पारित हुनेछ । कानुनी व्यवस्थाअनुसार देशैभरका स्थानीय तहले १० गते बजेट सार्वजनिक गर्नुपर्छ । कामपाको भने नीति र कार्यक्रममा देखिएको विवादको कारण १० गते नै बजेट पास हुनेमा शंका देखिएको छ।

प्रतिक्रिया दिनुहोस्