वीरका निर्देशक डा. पौडेलविरुद्ध अख्तियारमा उजुरी



काठमाडौं ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले नियमविपरीत औषधि पसल दर्ता गरि सञ्चालन गरेको भन्दै वीर अस्पतालका कर्मचारीले प्रधानमन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्तकता केन्द्रलगायतका निकायसमक्ष छानबिनका लागि निवेदन दिएका छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (चि वि रा प्र) वीर अस्पतालका निर्देशक सहप्राध्यापक एवं वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. पौडेल अधिकृत १०औं तहका कर्मचारी हुनुहुन्छ। उहाँले नेपाल सरकारको कर्मचारी अर्थात् वीर अस्पतालको निर्देशकजस्तो जिम्मेवार पदमा बसेर कम्पनी दर्ता गरी स्वास्थ्यसम्बन्धी व्यापार व्यवसाय सञ्चालन गर्नु गैरकानुनी भएको निवेदनमा उल्लेख छ।

नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५९, नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को विविध नियम ११२, निजामती ऐन २०४९ दफा ४८ (क) मा निजामती कर्मचारीले कुनै बैंक वा कम्पनीको स्थापना, रजिस्ट्रेसन वा सञ्चालनको काममा भाग लिन नहुने उल्लेख भए पनि सोविपरीत डा. पौडेलले आफ्नै नाममा फार्मेसी दर्ता गर्नुभएको निवेदनमा दाबी गरिएको छ।

निजामती सेवा नियमावली २०५० को नियम ११७ र भ्रष्टाचार निवारण ऐन २०५९ दफा १४ मा गैरकानुनी व्यापार व्यवसाय गर्ने राष्ट्र सेवकलाई आफ्नो वा अरुको नाममा कुनै फर्म वा कम्पनी वा संस्थाको हिस्सेदार भएमा कसुरअनुसार कैद वा जरिवाना हुने व्यवस्था छ।

उहाँ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सहप्राध्यापक पनि हुनुभएकोले प्रतिष्ठान शिक्षक नियमावली २०६४ को नियम १०९ ले पनि उहाँले दर्ता गरेको फार्मेसी नियमविपरीत र गैरकानुनी भएको उजुरीमा उल्लेख गरिएको छ।

डा. पौडेल अल्का हस्पिटल फार्मेसी प्रालिको पनि सेयर सदस्य/सञ्चालक र अध्यक्ष रहनुभएको उल्लेख गर्दै निवेदनमा भनिएको छ– ‘डा. पौडेलले गैरकानुनी रूपमा सरकारी कर्मचारी र अस्पताल प्रमुखले गर्न नहुने काम गरेकाले तत्काल निलम्बन गरी छानबिन र कारबाहीको लागि अनुरोध गर्दछांै।’

प्रतिक्रिया दिनुहोस्