सामाजिक सञ्जालबाट ३ सयभन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ



काठमाडौं ।

बेरोजगार युवायुवतीलाई आकर्षक गन्तव्य मुलुकमा राम्रो तलब हुने भन्दै विभिन्न सामाजिक सञ्जालमा नक्कली आईडी खोलेर ३ सय जनाभन्दा बढी नेपालीलाई ठगी गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायतका देशमा पठाउने भन्दै ३ सयभन्दा बढी मानिसबाट करिब १५ करोड रकम ठगी गर्ने गिरोहका नाइके नवीन विक, पवन पन्त र राजकुमार भट्टराईलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार उनीहरूले फेसबुक, म्यासेन्जर, ह्वाट्सअपलगायतका सामाजिक सञ्जालमा रविन आले मगर, मनोजजंग थापा, महेश थापालगायतको नाममा फेक आईडी प्रयोग गरी बेरोजगार युवा युवतीलाई वैदेशिक रोजगारीका लागि ती देशमा पठाइदिने भनी आकर्षक तलब र भत्तासहितको विज्ञापन सार्वजनिक गरी सम्पर्कमा आउने मानिसलाई विभिन्न व्यक्तिहरूको बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गर्दै आएको हो।

विदेश जाने लालसाले उनीहरूले भनेको बैंकमा जम्मा गरेको पैसा खाताधनीहरूलाई चेकमार्फत् निकाल्न लगाई उनीहरूले भनेबमोजिमका मानिसलाई भेटेर नगदै दिन लगाउने तथा विभिन्न खातामा कारोबार गराई ठगी गर्ने गरेको भन्ने उजुरीको आधारमा वैदेशिक रोजगार विभागले महाशाखालाई अनुरोध गरेपछि उनीहरू पक्राउ परेका हुन्।

महाशाखाका अनुसार विगत ५ वर्षदेखि सो गिरोहले नेपाली नागरिकलाई विदेश पठाउने बहानामा ठगी गर्दै आएको बताइएको छ। शुरूमा उनीहरूले ५ देखि १० लाख रुपियाँ जम्मा गर्न लगाउने र पछि काम हुँदैछ भन्दै थप रकम माग गरेर लिने गरेकोे छ।

उनीहरूले पीडितलाई आफ्नो खातामा पैसा जम्मा गर्न नलगाई अन्य व्यक्तिको खातामा पैसा जम्मा गर्ने र पैसा जम्मा भएपछि आफ्नो खातामा जम्मा गर्न लगाउने र बैंकबाट उक्त रकम ल्याएर पन्त र भट्टराई समेतलाई दिने गरेको अनुसन्धानको क्रममा पत्ता लागेको पनि प्रहरीले जनाएको छ।

उनीहरूले आफ्नो कम्पनीमा लेखापालको काम दिन्छु भन्दै बैंक खाता प्रयोग गर्न लगाएर सुनबहादुर बुढा, राजुकुमार बस्नेत, प्रभाकर भट्टराई, हरिबहादुर कामी, शेरबहादुर तामाङ, राजेश श्रेष्ठलगायतका व्यक्तिको खाता प्रयोग गरे ठगी गरेको पनि अनुसन्धानको क्रममा पत्ता लागेको छ।

त्यस्तै, विभिन्न व्यक्तिलाई अमेरिका पठाउने भन्दै करोडौं ठगी गर्दै आएका नारायणकुमार खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ। खड्काले दुर्गाबहादुर ओली, कमला डाँगीलगायतका व्यक्तिहरूलाई अमेरिका पठाउने भन्दै ४ करोड ३३ लाख ६८ हजारभन्दा बढी ठगी गरेको पनि महाशाखाले जानकारी दिएको छ।

खड्काको खातामा ४ करोडभन्दा बढी रकम जम्मा भएको देखिए पनि अहिले भने १ लाख ४२ हजार मात्रै रहेको पनि महाशाखाका डीएसपी गोविन्द पन्थीले जानकारी दिनुभयो। विभिन्न व्यक्तिलाई विश्वास दिलाउन खड्काले कतिपय व्यक्तिलाई भारतको नयाँदिल्ली लगेर बायोमेट्रिक गराउने गरेको र पीडितहरूलाई अमेरिका लैजाने भन्दै सिंगापुर, आइभरीकोस्ट हुँदै घानासम्म पुर्‍याइ अलपत्र पारेको पीडितहरूले प्रहरीलाई बताएका थिए।

खड्काले काठमाडौंबाट कलकत्ता, अजरबैजान, पोर्चुगल, सुरीनाम हुँदै अमेरिका लैजाने र ग्रीस, क्यानडा, फिनल्यान्ड, जर्मनी, मेक्सिको, ब्राजिल, पेरू, कोलम्बियालगायतका देशमा पठाउने भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको पनि डीएसपी पन्थीले बताउनुभयो ।

खड्काले केही व्यक्तिलाई युरोप पठाएको पाइएको र युरोप पठाएबापत प्रतिव्यक्ति ८ देखि १० लाखसम्म रकम लिने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ। खड्काको ज्योति विकास बैंकमा रहेको खातामा सन् २०२२ जुलाई २४ देखि २०२४ मे २९ सम्ममा ४ करोड ३३ लाख ६८ हजार १ सय १२ रुपियाँ जम्मा भएको देखिएको पनि प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्