क्यासिनो प्यालेसमा राजस्वको छापा प्रकरण : अन्य निकायहरू पनि विशेष निगरानीमा



काठमाडौं ।

राजस्व अनुसन्धान विभागले गत शुक्रबार दरबारमार्गस्थित क्यासिनो प्यालेसमा छापा मारेसँगै अन्य क्यासिनो र केही व्यापारिक निकायहरूमाथि विशेष निगरानी बढाएको छ। राजस्व अनुसन्धान विभागको टोलीले विशेष सूचनाका आधारमा शुक्रबार राती सो प्यालेसमा छापा मारेर क्यासिनोबाट १ करोड ५ लाख बरामद गरेको थियो ।

विभागका महानिर्देशक चक्रबहादुर बुढाले क्यासिनो प्यालेसले ठूलो परिमाणको नेपाली मुद्राको कारोबार गर्ने गरेको र राजस्व छली गर्ने गरेको सूचनाका आधारमा छापा मारिएको बताउनुभयो । ‘क्यासिनोले सो पैसा बैंकमा राख्नुपर्नेमा किन त्यहाँ राख्यो भन्ने प्रश्न छ, साथै उसले विदेशी मुद्राको कारोबार गर्दा राष्ट्रबैंकको अनुमतिसमेत नलिएको पाइएको छ’ –महानिर्देशक बुढाले भन्नुभयो।

विभागको अनुसन्धान टोलीले शुक्रबार छापा मार्ने क्रममा सो क्यासिनोका सञ्चालक तथा आधिकारिक व्यक्तिको खोजी गरेको थियो तर कसैलाई पनि फेला नपारेपछि सेफ र लकरलाई नियन्त्रणमा लिइएको थियो । उहाँले भन्नुभयो– ‘हामीले थप सोधपुछका लागि क्यासिनोका सञ्चालक वा आधिकारिक कुनै व्यक्ति बोलाएका छौं, विस्तृत अनुसन्धानपछि थप पत्ता लाग्ला।’

महानिर्देशक बुढाले गैरकानुनी रूपमा कारोबार गरी राजस्व छली गर्ने र विदेशी मुद्राको अवैध कारोबार गर्ने अन्य क्यासिनोलगायतका व्यापारिक निकायहरूको बारेमा पनि खोजतलास जारी राखिएको जानकारी दिनुभयो। राजस्व छली गर्ने जुनसुकै निकायहरूमाथि पनि विभागले कठोर कदम चाल्ने चेतावनी महानिर्देशक बुढाले दिनुभयो।

प्रतिक्रिया दिनुहोस्