स्वियाटेक फ्रेन्च ओपन च्याम्पियन



एजेन्सी ।

पोल्यान्डकी इगा स्वियाटेकले ग्रान्डस्लाम टेनिस प्रतियोगिता फ्रेन्च ओपनको उपाधिमा ह्याट्रिक गरेकी छन्। स्वियाटेकले इटालियन खेलाडी जास्मिन पाओलीनीलाई सीधा सेट ६–२, ६–१ ले हराएकी हुन्।

महिला एकलतर्फकी विश्व नम्बर एक खेलाडीको पेरिसमा यो चौथो उपाधि समेत हो भने समग्रमा पाँचौं ग्रान्डस्लाम उपाधि पनि हो । उनले २०२२ को यूएस ओपन जितेकी थिइन् ।

स्वियाटेकले फ्रेन्च ओपनमा लगातार २१ खेल जितेकी छन् । उनले २०२० मा फ्रेन्च ओपनमा पहिलो पटक उपाधि जितेकी थिइन्। २०२१ मा भने उनले उपाधि जितिनन् । तर, २०२२, २०२३ र अहिले २०२४ मा उनले फ्रेन्च ओपनमा लगातार तीन पटक उपाधि जितेकी हुन् ।

स्वियाटेक आधुनिक टेनिसमा फ्रेन्च ओपन महिला एकलतर्फ यसरी लगातार तीन पटक उपाधि जित्ने तेस्रो खेलाडी बनेकी छन्। यसअघि पेरिसमा तत्कालीन युगोस्लाभियाकी मोनिका सेलेस (१९९०–१९९२) र बेल्जियमकी जस्टिन हेनिन (२००५—२००७) ले लगातार तीन पटक उपाधि जितेका थिए।

फ्रेन्च ओपनमा सर्वाधिक उपाधि जित्ने खेलाडी
७ क्रिस एभर्ट (अमेरिका)
६ स्टेफी ग्राफ (जर्मनी)
४ जस्टिन हेनिन (बेल्जियम)
४ इगा स्वियाटेक (पोल्यान्ड)

प्रतिक्रिया दिनुहोस्